काठमाडौं, कार्तिक १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २४८ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ। त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० थियो।
पछिल्लो २४ घण्टामा थप २ हजार ९८१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको थियो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ।


























