चितवन, फागुन २६ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
तर कोरोनाभाइरसको जोखिम उच्च रहेको भन्दै सरकारले होली नखेल्नका लागि गरेको आह्वानका कारण मानिसहरुमा यो बर्ष होलीको उत्साह देखिएको छैन।
विगतका बर्षहरुमा बिहानैदेखि चितवनको नारायणगढका गल्ली/गल्ली तथा मूल सडकहरुमा देखिने मानिसहरुको जमघट यसपटक ठप्प प्रायः छ।
होली खेल्नेहरुले पनि घरपरिवारभित्रै सीमित भएर बिभिन्न रङ तथा अबिर दलेका छन्। होलीका अवसरमा चितवनको नारायणी नदी किनारमा हजारौं मानिसहरु भेला भएर हुने गरेका विभिन्न सांगितिक कन्सर्टहरु पनि यो बर्ष रद्द भएका छन्।

होलीको दुई दिनअघि नै शनिबार विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले होली नखेल्न र सतर्कता अपनाउँन आग्रह गरेको थियो। होली पर्वका अवसरमा विगतमा झैँ भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले उक्त कार्य नगर्न र नगराउनसमेत गृहमन्त्रालयले अनुरोध गरेको थियो।भीडभाडमा जाँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो। सरकारी आह्वान र कोरोनाभाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि होली खेल्न बाहिर निस्कने सर्वसाधारणको संख्या यो बर्ष कम देखिएको हो।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथासँग होली पर्व जोडिएको छ।


























