दाङ, कार्तिक ८ । आफ्नै बाबुलाई घरको छतबाट फालेर हत्या गर्ने छोरालाई दाङ प्रहरीले पक्राउ गरेको छ। बंगलाचुली गाउँपालिका २ दाङ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकलाई शनिबार बिहान ४५ वर्षीय बुबा बालाराम विकलाई घरको छतबाट फालेर हत्या गरेको अभियोगमा पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता (डीएसपी) सुमित खड्काका अनुसार शुक्रबार राति पौने १२ बजेतिर घरायसी विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट फालेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे प्रहरीलाई शनिबार विहान २ बजे खबर आएको तथा त्यसपछि प्रहरी पुगेर छोरालाई नियन्त्रणमा लिएको डीएसपी खड्काले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























