काठमाडौं, कार्तिक ३ । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले दसैं भत्तावापत प्राप्त रकम फिर्ता गर्ने घोषणा गरेका छन्। सोमबार विज्ञप्तिमार्फत् काठमाडौं-१ का सांसद सिंहले आफ्नो नाममा प्राप्त रकम फिर्ता गर्ने जानकारी गराएका हुन्। दसैं भत्ता उपलब्ध गराएर सांसदलाई बदनाम गराउने प्रयास भएको भन्दै उनले लेखेका छन्,‘कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दसैंभत्ता फिर्ताको निर्णय गरेर आफूजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन म आग्रह गर्न चाहन्छु।’
महामारीका बेलामा सांसदहरुलाई दसैं भत्ता दिएर जनताको नजरमा सांसदलाई आलोचित बनाएको उनको ठहर छ। सरकारकोे सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिने उनले बताए। अनियमिततामा संलग्न सरकारको दुराशयले सांसदलाई बदनाम गराएको उनले बताए। उनले भने, ‘अनियमितामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ।’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र अर्का सांसद गगन थापाले दसैं भत्ता फिर्ता गर्ने आइतबार घोषणा गरेका थिए।


























