काठमाडौं, कार्तिक २ । कोरोना महामारीका बीचमा पनि दसैँ भत्ता लिएको भन्दै आलोचना हुन थालेपछि भत्ता धमाधम फिर्ता गर्न थालेका छन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासहित सांसदहरू भीम रावल र गगन थापाले दसैँ भत्ता फिर्ता गरेका छन्। संसद सचिवालयका प्रवक्ता रोजताथ पाण्डेका अनुसार तिमल्सिना, थापा र रावलले आफू र आफ्नो स्वकीय सचिवको नाममा आएको दसैँ भत्ता फिर्ता गर्न निवेदन दिएका छन्।
उनीहरुले भत्ता फिर्ताका लागि औपचारिक रुपमा निवेदन सचिवालयमा दर्ता भएको उनले बताए। उनीहरुबाट भत्ता रकम बराबरका चेक लिने तयारी संसद सचिवालयले गरेको छ।
सांसद गगन थापाले भने दसैँ भत्ता बापतको ६४ हजार ७० रुपैयाँ नगद नै संसद सचिवालयको लेखा कार्यालयमा फिर्ता गरेका छन्। संघीय संसदका सदस्य र सांसदका स्वकीय सचिवलाई दसैँ भत्ता वितरण गरेपछि आलोचना भएका थियो। सांसदहरुले मासिक रुपमा पाउँदै आएको ६५ हजार तलबमा त्यति नै बराबर सचिवालयले बैंक खातामा दसैँ भत्ता पठाएको थियो।
सांसदहरुले दसैँ भत्ता लिएको यस वर्ष पहिलो पटक भने होइन। प्रत्येक वर्ष उनीहरुले यस्तो भत्ता लिँदै आएका छन्। नेकपाका सांसद नारायणकाजी श्रेष्ठले पनि भत्ता नलिने घोषणा गरेका थिए। त्यस्तै सांसद जनार्दन शर्माले आफूले पाएका भत्ता सहिद परिवारको उपचारमा दिने घोषणाा गरेका छन्।


























