काठमाडौं, कार्तिक २ । कर्णाली विवादबारे निष्कर्षमा पुग्न भएको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल विना निष्कर्ष सकिएको छ। दिउँसो ४ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कुनै पनि निष्कर्ष ननिस्किएको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दिएको छ।
कर्णालीका विषयमा दुई अध्यक्षले आइतबारै टुंगो लगाउने र प्रदेश स्तरका नेताहरूलाई एकै धारणाको सुझाव दिने तयारी गरिएको थियो। तर अध्यक्षद्वय बीचमा नै कुरा नमिल्दा छलफल निष्कर्षविहीन बनेको हो। यसअघि कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी विवाद मिल्न सक्ने बताइएको थियो।
गत बिहीबार र शुक्रबार प्रचण्डले प्रदेश स्तरका नेताहरूलाई खुमलटार बोलाएर रिपोर्टिङ लिएका थिए। शनिबार प्रधानमन्त्रीले कर्णालीका मुख्यमन्त्रीसहित नेतासँग रिपोर्टिङ लिएका थिए। सो क्रममा ओलीले अध्यक्षद्वयको सुझाव मान्न प्रदेशस्तरका नेताहरूलाई आग्रह गरेका थिए।
कर्णाली विद्रोहबारे आइतबारकै लागि कर्णालीका मुख्यमन्त्रीसहित अन्य नेताहरूसँग छलफल गर्ने भनिए पनि सो बैठक आज हुने नहुने अनिश्चित बनेको छ। मुख्यमन्त्रीसहितका प्रदेशस्तरका नेताहरू भने अध्यक्षद्वयकै निर्णयको पर्खाइमा छन्। यो प्रतीक्षा अझ लामो बन्ने संकेत देखिएको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीप्रति प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री ओली र प्रचण्डले पत्र काटेर तुरुन्त काठमाडौंमा आउन भनेका थिए।

























