काठमाडौं, कार्तिक २ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अहिले विकासको बाटोमा अग्रसर भइरहेको बताएका छन्। कोभिड १९ को महामारीका कारण विकास प्रयासमा केही व्यवधान खडा भएपनि विभिन्न ठाउमा शिलन्यास र सरकारी भवनहरु निर्माण भइरहेका उनले बताए।
झापाको दमक नगरपालिकामा दमक अस्पताल भवनको आइतवार भर्चुअल कार्यक्रममार्फत शिलन्यास गर्दै ओलीले भ्यु टावरदेखि सभागृह निर्माणको काम भइरहेको तथा रेल र पानीजहाजको काम भइरहेको बताएका हुन्।
‘नयाँ रेल ल्याइसकेका छौं, छिट्टै सञ्चालनमा ल्याउछौ। पूर्वपश्चिम रेलको तयारी गर्दैछौ। रेलमार्गको काम विभिन्न ठाउँबाट प्रारम्भ भएको छ। अब पूर्वबाट तयारी अगाडि बढाउँदैछौ,’ ओलीले भने।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिने दर रोक्न र यसलाई निर्मूल गर्न सरकार लागिपरेको बताए। उनले कोभिडविरुद्धको खोप परीक्षणको चरणमा रहेको समयमा नेपालमा आयुर्वेद डाक्टरहरुले गरिरहेको उपचार प्रयासको खुलेर प्रसंशा गरे।


























