कार्तिक १ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। सारजाहमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र साविक उपविजेता चेन्नई आफ्नो नवौं खेलका लागि मैदान उत्रने छन्। दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
सारजाह क्रिकेट मैदानमा दिल्ली सातौं जितको खोजीमा हुनेछ। अघिल्ला ८ खेलमा ६ जितसहित १२ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ। श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ।
दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ। तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन्। दिल्लीले सन्दीपलाई अघिल्ला ८ खेलमा बेञ्चमा राखेको थियो। बलियो टिम चेन्नईविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ।
यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई चौंथो जितको खोजीमा हुनेछ। चेन्नई ८ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ। दिल्लीलाई हराएर चेन्नई अंक तालिका सुधार गर्न चाहन्छ। यस्तै चेन्नई यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ। यस अघिको भेटमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको थियो।
चेन्नईले दिल्लीविरुद्ध कप्तान धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीलाई मैदान उतार्ने छन्। दिल्लीसँग पृथ्वी श, शिखर धवन, श्रेयस आयर, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी


























