काठमाडौं, असोज २७ । गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण बढ्ने अपराधका घटनाहरु रोक्नेगरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन्।
मंगलबार भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेको भन्दै यसलाई रोक्नेगरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्।
गृहमन्त्री थापाले भने, ‘नयाँ चुनौतीहरुलाई सफलतापुर्वक सम्पन्न गर्न, जनताको जिउधनको सुरक्षा गर्न अहिलेको सुरक्षा रणनीतिलाई परिमार्जन गर्दै उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको यो गोष्ठीले सहयोग गर्ने मैले विश्वास लिएको छु।’
पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए। गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको बताउँदै सीमा नाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाईराख्नु पर्ने बताए।
प्रहरी समायोजनसम्बन्धी प्रस्ताव पास भइसकेकोले अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने मन्त्री थापाले बताए। दशैँतिहारजस्ता चाडपर्व नजिकएको भन्दै कालोबजारी र महंगी नियन्त्रणका लागि नियमित रुपमा बजार अनुगमन र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्।
गृहमन्त्री थापाले चाडपर्व लक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका नियकालाई भनेका छन्। गोष्ठीलाई गृहमन्त्री रामबहादुर थापा, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतले सम्बोधन गरेका थिए।
गोष्ठीमा १ नम्बर प्रदेशका १४ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षास्थित तथा अन्य गतिविधिबारे रिपोर्टिङ गरेका थिए। सुरक्षा गोष्ठी वैशाखमै गर्नुपर्नेमा कोरोनाका कारण रोकिएको थियो।


























