असोज २५ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) लिग लिडर दिल्ली क्यापिटल्स र साविक विजेता मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ।
अबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र मुम्बई आफ्नो सातौं खेलका लागि मैदान उत्रने छन्। दिल्ली र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। शेख जायद क्रिकेट स्टेडियममा दिल्ली छैटौं जितको खोजीमा हुनेछ। अघिल्ला ६ खेलमा ५ जितसहित १० अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ।
श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली मुम्बईलाई हराएर शीर्ष स्थानमा कायम राख्न चाहन्छ। दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ। तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन्। दिल्लीले सन्दीपलाई अघिल्ला ६ खेलमा बेञ्चमा राखेको थियो। बलियो टिम मुम्बईविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ।
यता, रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई पाँचौ जितको खोजीमा हुनेछ। मुम्बई ६ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। दिल्लीलाई हराएर मुम्बई शीर्ष स्थानमा उक्लन चाहन्छ। मुम्बईले दिल्लीविरुद्ध कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडी मैदान उतार्ने छन्। दिल्लीसँग पृथ्वी श, शिखर धवन, श्रेयस आयर, ऋषब पन्त, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी


























