असोज २५ । नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजालले उत्कृष्ट प्रदर्शन गरेपछि आईलिग छनोटमा मोहम्मेदन स्पोर्टिङ क्लबले लगातार दोस्रो जित निकालेको छ। कोलकत्ताको बिवेकानन्द युवा भारती मैदानमा आइतबार अभिषेक चम्किदा एआरए एफसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै मोहम्मेदनले लगातार दोस्रो जित निकालेको हो।
मोहम्मेदनको जितमा अभिषेकले दुई गोल गरे। यस्तै विलिस प्लाजा र एसके फयाजले एक एक गोल गरे। एआरएले एक गोल आत्मघाती उपहार पाएको थियो। मोहम्मेदनका डिफेन्डर सफिउल रहमानले आत्मघाती गोल गरेका थिए।
खेलको १२ औं मिनेटमा प्लाजाले गोल गर्दै मोहम्मेदनलाई अग्रता दिलाएका थिए। २० औं मिनेटमा अभिषेकले गोल गर्दै टोलीको अग्रता २-० को बनाए। उनले पोष्ट नजिकै पाएको पासलाई सदुपयोग गरेका थिए।
खेलको ४४ औं मिनेटमा अभिषेकले व्यक्तिगत दोस्रो गोल गर्दा मोहम्मेदनले पहिलो हाफमा ३-० को अग्रता बनायो। खेलको ५५ औं मिनेटमा रहमानले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेपछि खेल ३-१ स्थितिमा आयो। त्यसपछि खेलको ८८ औं मिनेटमा फयाजले गोल गर्दै मोहम्मेदनलाई ४-१ को जित दिलाए।
एआरएबाट खेलिरहेका नेपाली यू-२३ टिममा सदस्य राजेश परियारले भने दोस्रो हाफमा डेब्युको अवसर पाए। राजेश खेलको ८४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए। जितसँगै मोहम्मेदन शीर्ष स्थानमा उक्लिएको छ। २ खेलमा मोहम्मेदनले ६ अंक रहेको छ। एआरएले भने हारबाट सिजनको सुरुवात गरेको छ। एजेन्सी


























