असोज २२ । मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगल र स्पेनले गोल रहित बराबरी खेलेका छन्। नेसन्स लिगको तयारीका लागि दुवै टिम मैत्रीपूर्ण खेलमा उत्रिएका थिए। लुइस एनरिके नेतृत्वको स्पेनले पहिलो हाफ नियन्त्रणमा राखेको थियो। तर दुई पटकको प्रहार क्रसबारमा लागेर फर्किएपछि पोर्चुगल अभागी बन्यो।
युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र रेनेटो साञ्चेजको प्रहार क्रसबारमा लागेपछि पोर्चुगलले अग्रताको अवसर गुमाएको थियो। करिब ५० हजार दर्शक क्षमताको जोस अलवलेड स्टेडियममा करिब २५ सय दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो। दुवै टिम सन् २०१८ को विश्वकप पछि पहिलो पटक मैदानमा भेटिएका थिए। रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगलले विश्वकपमा स्पेनसंग ३–३ गोलको बराबरी खेलेको थियो।
उल्भ्सका विङ्गर एडम ट्रोरेले दोस्रो हाफमा स्पेनका लागि डेब्यु गरेका थिए। उनी गोलको नजिक समेत पुगेका थिए। तर पोर्चुगलका पेट्रिसियोले त्यसलाई असफल बनाए। खेलको अन्तिममा एट्लेटिको मड्रिडका आक्रमक मिडफिल्डर जोआओ फिलिक्सको प्रहारलाई स्पेनका किपा एरिजाबलागाले राम्रो बचाउ गरेका थिए।
सर्जियो रामोसले स्पेनका लागि १ सय ७३ औं खेलमा मैदान उत्रिएका थिए। उनले समेत स्पेनलाई जित नजिक पुर्याउन खोजेका थिए। तर उनको हेड पोस्ट नजिकैबाट बाहिरिएको थियो। एजेन्सी


























