असोज २१ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) साविक उपविजेता चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। अबुधाबीमा चेन्नई आफ्नो छैटौं र कोलकत्ता पाँचौं खेलका लागि मैदान उत्रने छन्। चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
शेख जायद क्रिकेट स्टेडियममा चेन्नई तेस्रो खोजीमा हुनेछन्। अघिल्ला पाँच खेलमा चेन्नईले २ जित र ३ हार व्यहोरेको थियो। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई ५ खेलमा ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। तर, छैटौं खेलमा भने कोलकत्तालाई हराएर चेन्नई अंक तालिका सुधार गर्न चाहन्छ।
दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पनि तेस्रो जितको खोजीमा हुनेछ। कोलकत्ताले अघिल्ला ४ खेलमा २ जित र २ हार व्यहोरेको थियो। कोलकत्ता चौंथो स्थानमा रहेको छ।
चेन्नईविरुद्ध कोलकत्ताले दिनेशसँगै आन्द्रे रसेल, इयान मोर्गन, आन्द्रे रसेल,कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडी मैदान उतार्ने छन्। चेन्नईसँग भने धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी


























