काठमाडौं, असोज १९ । नेपाली कांग्रेसका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रहमा रहेका डा.गोविन्द केसीको माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताएका छन्। थापाले सामाजिक सञ्जाल फेसबुकमा डा.केसीले राखेको कुन माग पूरा गर्न नहुने, नसकिने र जनहित विपरीत छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
‘प्रधानमन्त्रीज्यू, डा.गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने?’ गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्? सांसद थापाले लेखेका छन्, ‘प्रमज्यू ,ख्याल राख्नुहोला,यदि डा.केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाई हो।’ सांसद थापाले प्रधानमन्त्री ओलीले थापासँग गरेका बाचा पूरा नगरेको बताएका छन्। उनले प्रश्न गरेका छन्, ‘तपाईँ आफैँले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र?’ डा. केसीसँग संवाद गरेर पूरा गर्न सकिने माग पूरा गर्न थापाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। ‘डा.केसीसँग संवाद नै गर्दिनँ भन्ने तपाईको हठले के तपाईको मान बढाउँछ?’ प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै थापाले लेखेका छन्, ‘पूरा गर्न सकिने र गर्नुपर्ने माग छन्, पूरा गर्नुहोस्। यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ। तर,एउटा सत्याग्राहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईले चुकाउनु पर्नेछ।’


























