बुटवल, असोज १९ । प्रदेश-५ को राजधानी विवाद झनझन पेचिलो बन्दै गएको छ। प्रदेश सभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिका संयोजक रहेका नेकपाकै सांसदले पदबाट राजीना दिएका छन्। प्रदेश-५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेश सभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका हुन्।
दाङको देउखुरी क्षेत्रमा प्रदेश-५ को स्थायी राजधानी तोक्ने प्रदेश सरकारको निणर्यपछि उनले राजीनामा दिएका हुन्। उनी नेकपाको तर्फबाट रुपन्देहीबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्। हाल प्रदेशको अस्थायी राजधानी बुटवल छ।
नेकपा संसदीय दलमा राजधानी सार्ने विषयमा फरक मत राख्दै आएका श्रेष्ठले सोमबार मस्यौदा समितिको संयोजक पदबाट राजीनामा घोषणा गरेका हुन्। श्रेष्ठको राजीनामाले नेकपामा पनि विवाद शुरु भएको छ। श्रेष्ठले संसदीय विधि र पद्धती विपरित जवरजस्ती प्रदेशको राजधानी सार्न खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। अहिले प्रदेश-५ को राजधानी दाङको भालुवाङ प्रस्ताव भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध गरिरहेको छ।


























