काठमाडौं, असोज १८ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकबारे अनिश्चित बनेको छ। चारजना केन्द्रीय सदस्यसँगै केन्द्रीय कार्यालयका दुई कर्मचारीमा संक्रमण देखिएपछि सोमबारका लागि बोलाएको बैठक बस्ने अनिश्चित बनेको हो। केन्द्रीय कार्यसमिति बैठकलाई मध्यनजर गर्दै काँग्रेसले बिहीबार पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना परीक्षण गराएको थियो।
शनिबार केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, जंगीलाल राय, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठको पीसीआर रिपोर्ट पोजेभिट आएको थियो। शनिबार सानेपामा भएको शीर्ष नेताहरुको बैठकमा सहभागी नेताहरुमा कोरोना पुष्टि भएपछि आइतबार बिहान ९ बजे बस्ने भनिएको शीर्ष नेताको बैठक भने स्थगित भएको छ। सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आज ९ बजेको बस्ने भनिएको बैठक स्थगित भए पनि केन्द्रीय कार्यसमिति बैठकबारे अनिश्चिता कायक छ।
काँग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले पनि सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकबारे अनिश्चितता प्रकट गरे। नेताहरुबीच आज टेलिफोन संवादपछि मात्र बैठक बस्ने नबस्ने टुङ्गो लाग्ने उनको भनाइ छ। कोरोनाले प्रभावित १४ औँ महाधिवेशनको कार्यतालिका, भातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र काँग्रेस प्रवेश गरेर तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहितका नेताहरूको व्यवस्थापनका विषयमा छलफल गर्ने सोमबारलाई बैठक बोलाइएको छ।
साथै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराएको ज्ञापनपत्र र संसदमा विशेष अधिवेशन बोलाउन माग गर्ने विषय पनि छलफलको एजेण्डाका रुपमा राखिएको छ। एजेण्डामा सहमति जुटाउन शनिबार पार्टी कार्यालय सानेपामा शीर्ष नेताबीच छलफल पनि भएको थियो। छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानलाई बोलाइए पनि स्थगित हुन पुगेको छ।
सभापति देउवाले वरिष्ठ नेता पौडेल पक्षले पार्टी कार्यालयमा दर्ता गरेको ज्ञापनपत्रमार्फत उठाएका मुद्दामा सहमति जुटाउन शनिबार दुवै पक्षका पदाधिकारी, पूर्वपदाधिकारीसहित केही केन्द्रीय सदस्यहरुसँग अनौपचारिक छलफल गरेका थिए।


























