काठमाडौं । सम्पर्कबिहीन भएको तारा एयरको जहाज खोज्न जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ। आइतबार बिहान जोमसोमको लागि पोखराबाट उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि उक्त जहाज खोज्न दुईवटा निजी हेलिकप्टर परिचालन गरिएको थियो। तर मौसम प्रतिकूल बनेपछि उक्त हेलिकप्टर फिर्ता भएको गृहमन्त्रालयले जनाएको छ। सम्पर्कविहीन भएको जहाज भने लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएपछि सम्पर्कबिहीन भएको गृहमन्त्रालयले जनाएको छ।
स्थानीयले भने मुस्ताङको घाँसा क्षेत्रमा दुर्घटना भएको बताएका छन्। तर उक्त स्थानमा हालसम्म प्रहरी वा कुनै पनि निकाय पुग्न सकेको छैन। गृहमन्त्री बालकृष्ण खाणले जहाज खोजी कार्य तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सम्पर्कबिहीन जहाजमा चालकदलका ३ सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी २२ जना सवार थिए।


























