बागलुङ, असोज १५ । स्थिति सहज भएको भए यतिबेला ढोरपाटन शिकार आरक्षमा शिकार खुला भइसक्थ्यो। पेशेवर विदेशी शिकारी आरक्ष जाने सुरसारमा हुन्थे। कोही पुगिसक्थे। यसपालि आरक्ष सुनसान छ। शिकार हुने/नहुने अनिश्चित छ।
अघिल्लो शिकार याम (फागुन–वैशाख) मा पनि बन्दाबन्दीले शिकार अपर्झट रोकिएको थियो। यात्रा प्रतिबन्धका कारण विदेशी आउने अवस्था रहेन। राजश्व बुझाइसकेका कम्पनीले शिकार खेलाउन पाएनन्।
आरक्षमा बर्सेनि (फागुन–वैशाख) र (असोज–मङ्सिर) गरी दुई याममा शिकार खुल्छ। यो यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत साता बल्ल सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ। अघिल्ला वर्षमा भदौ पहिलो साताभित्रै बोलपत्रको प्रक्रिया टुङ्गोमा पुग्थ्यो।
असोज दोस्रो सातातिर त शिकार खेल्न शुरु भइसक्थ्यो। कोरोनाले निम्त्याएको अन्योलले तयारी केही समयपछि धकेलिएको विभागले जनाएको छ। विभागका सूचना अधिकारी हरिभद्र आचार्यले स्वास्थ्य सुरक्षाको सुनिश्चितता र शर्तसहित शिकार खुला गर्न लागिएको बताए।
“सरकारले विस्तारै सबै क्षेत्र खोल्ने भनेकाले विभागले शिकार खुला गर्ने निर्णय गरेको छ, प्रक्रिया पनि अघि बढेको छ”, उनले भने। परिस्थिति नबिग्रेमा र तयारीले भ्याएसम्म शिकार गराउने योजनामा विभाग छ। बीचमा थप जटिलता आइलागेमा अर्को सूचना दिएर शिकार स्थगन गरिने आचार्यले बताए।
शिकार खेलाउने कम्पनी भने हालको स्थितिमा विदेशी शिकारी ल्याउन असम्भव रहेको बताउँछन्। कोरोनाका कारण यो याममा शिकार नगराउने निर्णय पहिल्यै भए पनि अहिले एक्कासि विभागले बोलपत्रको सूचना निकालेको ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्शेर पराजुलीले बताए।
“हामीले पनि दुई दिनपछि बल्ल सूचना निस्केको थाहा पायौँ, विभागले शिकार कम्पनीसँग पनि कुनै सरसल्लाह गरेन”, उनले भने, “अहिलेकै अवस्थामा शिकार खेलाउन सम्भव छैन, अमेरिका, रसियाजस्ता मुख्य शिकारी आउने देशले नै नेपाल यात्रामा रोक लगाएका छन्।” नेपालमा पनि कोरोना सङ्क्रमण थप बढेकाले विदेशी झट्टै आउने सम्भावना नरहेको उनको भनाइ छ।
“विदेशी शिकारी चाहेर पनि आउनसक्ने स्थिति छैन, आइहाले पनि कोरोना जाँच, क्वारेन्टिन बस्नुपर्ने जस्ता कारणले जटिलता छ”, पराजुलीले भने, “फेरि सरकारले २५ हजार सक्रिय सङ्क्रमित पुगेमा बन्दाबन्दी गर्न सकिने भनेको छ, यस्तो अन्योलमा कसरी विदेशी आउलान् र ?”
सरकारले आउँदो कात्तिक ३ गतेपछि मात्र विदेशी पर्यटकलाई नेपाल घुम्न आउने राहदानी खुला गर्ने निर्णय गरेको छ। पर्वतारोहण र पदयात्राका लागि आउने विदेशी पर्यटकले पछिल्लो ७२ घण्टाको पिसीआर जाँचको रिपोर्ट ल्याउनुपर्ने, सात दिन क्वारेन्टिन बस्नुपर्ने र पुनः पिसीआर गरेर मात्र यात्रा गर्न पाउने शर्त राखिएको छ।
आरक्षका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवले शिकारका लागि समय घर्कंदै गएको बताए। “शिकारको सबै काम विभागमार्फत हुन्छ, हामीले स्थानीय व्यवस्थापन र अनुगमनको काम गर्छौं”, उनले भने, “शिकार खेल्न आरक्षमा केही समस्या छैन, मुख्य कुरा माथिकै निर्णयमा भर पर्छ।”
विभागले वर्षमा २० नाउर र ११ झारलको शिकार कोटा छुट्याउने गरेको छ। विद्युतीय बोलपत्रमार्फत छनोट भएका पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीले मात्र शिकार खेलाउन पाउँछन्। विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक शिकार गन्तव्य हो।
गत वर्षको यही याममा सात नाउर र पाँच झारलको शिकार गरिएको थियो। शिकार कम्पनीले एउटा नाउर शिकारको रु एक लाख ९० हजार राजश्व बुझाएका थिए। झारल शिकारको त्योभन्दा कम थियो।
शिकार कम्पनीबीच विद्युतीय बोलपत्रमा प्रतिस्पर्धा नभएपछि त्यो याममा राजश्व दर पनि घटेको हो। कुनै याममा शिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धामा जाँदैनन्। माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन्।
डेढ वर्षअघि (फागुन–वैशाख) को याममा भने शिकार कम्पनीले एउटा नाउरको रु १३ लाख ५१ हजार र झारल शिकारको रु १३ लाख ५० हजार राजश्व बुझाएका थिए। हरेक शिकार याममा राजश्वको दर घटबढ हुने गर्छ।
गत याममा शिकार स्थगन हुँदा झण्डै साढे एक करोड राजश्व गुमेको आरक्ष कार्यालयले जनाएको छ। शिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्स, नेपाल वाइल्ड लाइफ सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, ओपन नेपाल वाइल्ड लाइफ सफारिज, हिमालयन अउटफिटर, हिमालयन सफारिजल र ग्लोबल सफारिजले ढोरपाटनमा शिकार खेलाउँदै आएका छन्।
व्यवस्थित शिकारका लागि आरक्षभित्र सात ‘ब्लक’ बुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह तोकिएको छ। शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार गराउने गर्छन्। शिकारका लागि रसिया, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त शिकारी ढोरपाटन आउँछन्।
सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ। एउटै शिकारीले रु ३० देखि ३५ लाखसम्म शिकारमा खर्चने गरेको कम्पनी बताउँछन्। शिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन्।
शिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन्। एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ।
शिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ। आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन्। आरक्ष क्षेत्रमा संरक्षित पक्षी डाँफे, मुनाललगायत १६५ प्रजातिका चराको बसोबास छ। व्यवस्थित शिकारले राजश्व बढ्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुर्याएको छ। रासस


























