असोज १५ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहीबार) साविक विजेता मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ। अबुधाबीमा मुम्बई र पन्जाब आफ्नो चौंथो खेलका लागि मैदान उत्रन लागेका हुन्। मुम्बई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
शेख जायद स्टेडियममा मैदान उत्रदा दुबै टिम दोस्रो जितको खोजीमा हुनेछन्। अघिल्ला तीन खेलमा दुई टोलीले एक जित र दुई हार व्यहोरेका थिए। रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई पन्जाबलाई सहजै हराउन चाहन्छ। तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने छैन। पन्जाब पनि साविक विजेताविरुद्ध जित निकाल्ने योजनामा हुनेछ।
पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो।
तर, तेस्रो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो। मुम्बई ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ। यता, पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो।
तर, दोस्रो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो। यस्तै तेस्रो खेलमा पन्जाबलाई राजस्थान रोयल्सले ४ विकेटले हराएको थियो। पन्जाब ३ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
दुई टिमबीचको पछिल्लो पाँच भेटमा मुम्बई बलियो देखिएको छ। गत वर्ष भएको दुई भेटमा भने दुबैले एक एक जित निकालेका थिए। गत वर्ष पहिलो खेलमा मुम्बईलाई पन्जाबले ८ विकेटले हराएको थियो। दोस्रो खेलमा मुम्बई ३ विकेटले विजयी भएको थियो।
मुम्बईले पन्जाबविरुद्ध कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडी मैदान उतार्ने छन्।पन्जाबसँग राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरण, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी


























