विराटनगर, असोज १० । स्वास्थ्यमा अन्य समस्या नदेखिएका र दीर्घ रोग नभएका कोरोना भाइरस संक्रमित एक जना वृद्ध पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले सप्तरीको राजविराज–३ घर भएका ६३ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको बताए। उनका अनुसार मृतकमा कुनै पनि दीर्घ रोग र स्वास्थ्य सम्बन्धी पुरानो समस्या देखिएको छैन।
वृद्धमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि उपचाररत रहेको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालबाट भदौ ८ गते थप उपचारका लागि प्रतिष्ठान रेफर गरिएको थियो। पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका वृद्धको त्यही दिन रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको डा.सापकोटाको भनाइ छ।
स्वास्थ्यमा समस्या थपिएपछि भेन्टिलेटरमा राखेर वृद्धको उपचार थालिएको थियो। शवको व्यवस्थापन नियम अनुसार गर्ने तयारी भइरहेको सापकोटाले बताए।


























