काँक्रो बजारमा वर्षैभरि पाइने फल हो। यो नेपाली जनजीवनमा सबैभन्दा लोकप्रिय खान्कीमध्येको एक पनि हो। काँक्रोलाई चिरा पारेर नुन, खुर्सानी दलेर खानुको मज्जा पनि बेग्लै हुने गर्दछ। काँक्रोको प्रयोग अचार र सलादमा पनि उल्लेख्य रहेको हुन्छ। काँक्रोको पातलो गोलाकर पत्रलाई दुवै आँखामा राखेर एकखालको फेसियल थेरापी पनि गर्ने गरिन्छ।
स्वास्थ्यका लागि फाइदाजनक काँक्रोमा करिब ९० प्रतिशत पानी हुन्छ। सोही कारण गर्मी याममा मानिस शरीरमा पानीको कमी हुन नदिन काँक्रो खाइरहेका हुन्छन्। पोषणतत्वयुक्त काँक्रोका यस्ता अनेकौं फाइदा छन्, जसबारे हामी अझै अनभिज्ञ छौं। यस्ता छन् काँक्रोका फाइदाहरु
तौल कम गर्न मद्दत गर्छ
फाइबरयुक्त काँक्रोमा पानीको मात्रा बढी र क्यालोरी कम हुन्छ। भोजनमा काँक्रोको मात्रा बढाउने मानिसको शरीरमा अतिरिक्त तौल बढ्दैन। मध्यान्हमा काँक्रो खाएमा भोक पनि हट्छ। तपाईंको भोकलाई काँक्रोले नै खाइदिन्छ, जसले गर्दा शरीरमा क्यालोरी बढ्न पाउँदैन र तौल कम हुन थाल्छ। यसैगरी काँक्रोमा पाइने भिटामिन ए, बी र सीले शरीरमा शक्ति प्रदान गर्नुका साथै पाचन प्रक्रियालाई मजबुत बनाउँछ।
क्यान्सरविरुद्ध लड्न
काँक्रोमा क्याफिक, कुकुरविटासिन्स, लुटेन, फिस्टिनलगायत तत्व हुन्छन्, जसले स्तन, ओभरी, प्रोस्टेट र पाठेघरको क्यान्सर हुनबाट बचाउँछन्। काँक्रोमा एन्टिअक्सीडेन्टको मात्रा हुने भएकाले यसले शरीरका टक्सिन बाहिर निकाल्छ र क्यान्स सेल्स बढ्न दिँदैन।
मृगौला रोगबाट बचाउँछ
पानीले भरिपूर्ण काँक्रोले विषाक्त तत्वलाई हाम्रो शरीरबाट बाहिर फाल्ने मात्र नभई मृगौलाको पत्थरीलाई गायब पार्नसमेत मद्दत गर्छ। यसलाई गाँजरसित मिसाएर खाएमा युरिक एसिड कम गरी गाउट तथा आर्थराइटिसको दुःखाइ कम गर्छ। काँक्रोले युरिक एसिड कम गर्ने भएकाले त्यसका कारण हुन सक्ने मृगौलासम्बन्धि समस्याबाट समेत बचाउँछ।
मधुमेह र रक्तचाप हुन दिँदैन
काँक्रोमा प्रशस्त मात्रामा पोटासियम, सिलिकनलगायत मिनरल्स हुन्छन्, जुन शारीरिक विकासका लागि आवश्यक छन्। काँक्रोमा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ। काँक्रोको जुस मधुमेहका लागि पनि फाइदाजनक छ। यसले पेंक्रियाटिक कोषिकालाई इन्सुलिन उत्पादन गर्न सघाउँछ।
दाँत बलियो बनाउँछ
काँक्रोलाई राम्रोसित चपाएर खाएमा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ। काँक्रोमा पाइने साइटोकेमिकल्सले मुखमा रहेका ब्याक्टेरिया नष्ट गर्छ, जसका कराण मुखबाट गन्ध आउन बन्द हुन्छ।
डार्क सर्कल हटाउँछ
काँक्रोमा एन्टि-इन्फ्लामेन्टरी तत्व पाइन्छ, जसले अनुहारको डार्क सर्कल हटाउन मद्दत गर्छ। काँक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ। यसलाई पातलो स्लाइसमा काटेर आँखाको दुवैपट्टी लगाएको खण्डमा आँखाबाट कालो दाग हटेर जान्छ।
























