नर्सिङ भनेको त्यो सेवा हो, जसले व्यक्तिको स्वास्थ्य सुरक्षामा विशेष भूमिका खेल्छ। स्याहारसुसार गर्छ, रोगबाट बचाउने तथा पुनर्स्थापना गर्ने लगायतका काम गर्दछ। यस्तो काम गर्न सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान प्राप्त गरेका व्यक्ति अर्थात् नर्सको भूमिका अपरिहार्य हुन्छ, जसले सेतो पहिरनमा अस्पताल वा स्वास्थ्यसँग सम्बन्धित निकायमा रातदिन सेवा प्रदान गर्दै आइरहेका हुन्छन्। शुरुमा नर्सिङ पेसालाई दुःखी र समाजमा त्यति राम्रो रूपमा लिने गरिँदैन्थ्यो। त्यस बेलाको सामाजिक परिवेश ‘छोरा बिग्रे कमर्स, छोरी बिग्रे नर्स’ भन्ने खालको थियो।
तत्कालीन समयमा छोरी बुहारीलाई घरेलुु काममा मात्र लगाइन्थ्यो। उनीहरुले घरबाहिर गएर काम गर्नु भनेको त्यति राम्रो मानिँदैनथ्यो। त्यसमा पनि तत्कालीन विद्यमान समाजमा नर्सको कामलाई नकारात्मक तरिकाले हरिन्थ्यो। अर्कोतर्फ छोरीहरुलाई शिक्षादीक्षा दिनुहुन्न भन्ने सोच पनि कायमै थियो। तर आजभोलि नेपालमा आएको सामाजिक तथा राजनीतिक परिवर्तन, विश्वव्यापीकरण, विकसित मुलुकमा काम गर्न जाने अवसर पाउनु र नेपालमा रहँदा पनि बेरोजगार बस्नु नपर्ने भन्ने हेतुले नर्सिङ पेसाप्रतिको धारणा परिवर्तन भएको छ। र यसप्रतिको आकर्षण पनि दिनप्रतिदिन बढिरहेको छ। आज नर्सिङ शिक्षा, सेवा र भूमिकामा निकै ठूलो परिर्वतन आएको छ।
नर्सिङ संवेदनशील र मानवीयताको पेसा हो। यो पेसाको जन्मदाता फोलोरेन्स नाइटिङ्गेल हुन्। उनले दोस्रो विश्वयुद्धका क्रममा किर्मिया युद्धमा घाइते सैनिकहरुको उपचारमा अहोरात्र खटेर सेवा प्रवाह गरेकी थिइन्, जसले गर्दा मृत्युदर ४२ प्रतिशतबाट घटाएर २ प्रतिशतमा झारेकी थिइन्। उनैको नर्सिङप्रतिको योगदान, बिरामीप्रतिको समर्पणलाई कदर गर्दै मे १२ लाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा समेत मनाउने गरिन्छ। र, उनलाई सम्मानस्वरुप ‘लेडी विथ दि ल्याम्प’ पनि भनिन्छ।
नेपालको सन्दर्भमा राणाहरूको समयमा उपचार र प्रसूति सेवाको राम्रो व्यवस्था नभएका कारण धेरै महिलाले प्रजनन् स्वास्थ्य सेवा नपाइ ज्यान गुमाउनु परेको अवस्थामा विद्यावति कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईलाई १८ महिने मिडवाई फ्री तालिमका लागि भारत पठाइयो। त्यसपछि २००९ सालमा स्टाफ नर्स पढ्नका लागि उमादेवी दास र रुक्मिणीचरण श्रेष्ठलाई भारत पठाइएको थियो। उहाँहरूले अध्ययन पूरा गरेर नेपाल फर्किएपछि २०१३ सालमा डब्लुएचओको सहयोगमा सुरेन्द्र भवन, सानेपामा पहिलो नर्सिङ स्कूल शुरुवात भएको हो।
पहिलो ब्याचमा एकजना मात्र विद्यार्थीबाट शुरु भएको नर्सिङ कार्यक्रम दोस्रो ब्याचमा दुईजनाले अध्यन गरेका थिए। त्यतिबेला नर्सिङ पेसाप्रति त्यति आकर्षण पनि थिएन। त्यसपछि विभिन्न ठाउँमा सर्दै वीर अस्पतालमा महाबौद्ध नर्सिङ स्कुल सञ्चालन गरिएकोमा २०४२ सालमा त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य सेवाका सम्पूर्ण कार्यक्रम आफ्नो मातहतमा लिई स्कुल अफ नर्सिङलाई महाराजगञ्ज नर्सिङ क्याम्पसमा परिणत गरियाे।
समस्या र चुनौती
नर्सिङ पेसा त्यति सजिलो पेसा होइन, जसले दिनरात बिरामीको सेवामा नै सम्पूर्ण समय बिताउनुपर्ने हुन्छ। त्यसैले सेवामुखी भावना, स्वचालित गुण, समयसापेक्ष उपकरणसम्बन्धी ज्ञान, सैद्धान्तिक र व्यवहारिक ज्ञान राम्रो भएका नर्सहरूले जटिल अवस्थामा पुगेका बिरामीलाई पनि बचाइ पुनर्जन्म प्रदान गर्न सक्दछन् भने नर्सको सानो लापरवाहीले बिरामीको ज्यान जाने अवस्था पनि आउँछ। त्यसैले नर्स परिश्रमी, संवेदनशील, सक्षम, साहसी र सेवामुखी हुनु आवश्यक छ। मानव स्वास्थ्यमा नर्सको भूमिका अतुलनीय छ।
नेपाल नर्सिङ काउन्सिलका अनुसार नेपालमा हाल ९५ हजारभन्दा बढी नर्स रहेका छन्। पीसीएल पास गरेका नर्स ६० हजार ७९५, अनमी ३३ हजार ७४५ र विदेशी नर्स ८४४ गरी ९५ हजार ३८४ नर्स काउन्सिलमा दर्ता छन्। जसमध्ये करिब ४० हजार नर्स बेरोजगार छन्। पेसागतरूपमा हेर्दा नर्सिङ जति सजिलो देखिन्छ, व्यावहारिकरूपमा त्यति नै जटिल पनि छ। नर्सिङ पेसामा व्यावहारिक ज्ञान प्राप्त गर्नुका साथै बेरोजगार भएर बस्न नपर्ने कुरा भनिरहँदा लाखौं खर्च गरी पढाइएका नर्स दिदीबहिनीले अस्पतालमा वर्षौसम्म भोलेन्टिएरको रूपमा रातदिन ड्युटी गराइएको अवस्था कति पीडादायक होला।
त्यस्तै, जाडो, गर्मी, घरपरिवार, चाडपर्व केही नभनी आफ्नो पेसाप्रति चौबीसै घण्टा खटिएका नर्सहरूको पारिश्रमिक ज्यादै कम हुनु, रातको ड्युटीमा जान/आउनका लागि सवारीसाधनको व्यवस्था नहुनु, पेसागत सुरक्षाको अनुभूति गर्न नपाउनु र कार्यबोझ बढी, सुविधासुविधा कम प्राप्त गर्दाका पीडा एकातिर छन् भने देशमा प्रभावकारी नीति, नियमको अभावमा योग्यता, क्षमता वृद्धि गरेर पनि एउटै तहमा वर्षौंसम्म रहिरहनुपर्ने र पदोन्नतिको अवसर प्राप्त गर्न नसक्दाको पीडा अर्काे किसिमका छन्।
समुदायको स्वास्थ्यस्तर सुधार गर्न पर्याप्त तालिम प्राप्त तथा सेवाप्रति समर्पित स्वास्थ्यकर्मीको आवश्यकता पर्छ। प्रत्येक क्षेत्रमा दक्ष स्वास्थ्यकर्मीका साथै गुणस्तरीय स्वास्थ्य सेवा अपरिहार्य हुन्छ। यो लक्ष्य पूरा गर्न स्वस्थ जनशक्तिका साथै नर्सहरूको ठूलो भूमिका हुन्छ। गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि तालिम प्राप्त दक्ष नर्स तथा स्वास्थ्यकर्मीका साथै राम्रो काम गर्ने वातावरणको पनि त्यत्तिकै महत्त्व हुन्छ। सैद्धान्तिकरूपमा निपूर्ण र व्यवहारिकरूपले सीपयुक्त नर्सहरू स्वस्थ परिवार, स्वस्थ समाज र स्वस्थ राष्ट्र निर्माणका आधार हुन्। त्यसैले नर्सिङ पेसालाई मर्यादित र सेवामुखी बनाउनु आजको आवश्यकता हो।
नेपालमा कति नर्सको दरबन्दी चाहिन्छ, कुन–कुन तहको दरबन्दी सिर्जना गर्नुपर्छ तथा कुन–कुन क्षेत्रमा विशेष तालिमको व्यवस्था गर्नुपर्छ सबै कुरा स्पष्ट हुनुपर्छ। मेडिकल कलेज, विशेष सेवा दिने अस्पताल तथा सुपर स्पेस्यालिटी सेवा प्रदान गर्ने संस्थाहरूको कुन–कुन स्तरको, कति अनुपातमा नर्स चाहिने हो सोको प्रष्ट नीति बनाई स्वास्थ्य मन्त्रालयले लागू गर्नुपर्ने देखिन्छ। नेपाल नर्सिङ परिषद्ले पनि नर्सिङ शिक्षा तथा नर्सिङ सेवाको क्षेत्रमा स्पष्ट नीति बनाई सर्वसाधारण तथा आधिकारिक व्यक्तिहरूलाई जानकारी गराइ कडाइका साथ व्यवहारमा लागू गर्नुपर्ने नितान्त आवश्यक भइसकेको छ। ठोस स्वास्थ्य नीति तर्जुमा गर्न नेपाल नर्सिङ संघको भूमिका पनि अहम् हुन्छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत अधिकारी
नर्सिङ संघ, चितवनकी सचिवसमेत हुन् ।
























