असोज ८ । यूईएफए सुपर कप फुटबलको फाइनल खेल आज (बिहीबार) राति हुँदैछ। हंगेरीमा हुने फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिया भिड्ने छन्।
बुडापेस्टस्थित पुस्कास एरिनामा हुने बायर्न र सेभियाबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ। दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। च्याम्पियन्स लिगसहित ३ उपाधि जितेको बायर्न सुपर कप समेत आफ्नो बनाउन चाहन्छ।
बायर्नको टिम निकै लयमा समेत रहेको छ। बायर्नले बुन्डेसलिगाको नयाँ सिजन समेत सानदार सुरुवात गरिसकेको छ। यता, युरोपा लिग विजेता सेभिया पनि बायर्नलाई हराएर सुपर कप जित्न चाहन्छ। बायर्न र सेभियाले यस अघि एक एक पटक सुपर कप जितेको छ। बायर्नले २०१३ र सेभियाले २००६ मा उपाधि जितेको थियो। यस पटक दुवै टिम दोस्रो पटक उपाधि आफ्नो बनाउन चाहन्छ।
सुपर कपमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्ने गर्छन। बायर्न च्याम्पियन्स लिग र सेभिया युरोपा लिग च्याम्पियन हो। यस्तै बायर्न र सेभियाबीचको खेलमा करिब २० दर्शकले रंगशाला प्रवेश गर्न पाउने छन्। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले फाइनलमा ३० प्रतिशत दर्शकलाई रंगशाला प्रवेश गर्न दिने निर्णय गरेको हो।
कोरोना भाईरसको महामारीको कारण हाल बन्द रंगशालामा खेलहरु भईरहेको छ। एजेन्सी


























