गोरखा, असोज ७ । लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ। धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए।
‘भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उनले भने, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाइ खबर गरेँ।’ अहिले घटनास्थलतर्फ प्रहरी गइरहेको एसपी सुरेन्द्रबहादुर गुरुङले बताए।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार जडिबुटी खोज्न केही दिनअघि उनीसहितको समूह लेक गएको थियो। ‘यो समयमा सो क्षेत्रका स्थानीय जडिबुटी खोज्न लेक जान्छन्, त्यो ठाउँमा पुग्न गाउँबाट दुई दिन पैदल जानुपर्छ,’ उनले भने। टाढा भएकाले खबर आउन ढिला भएको उनको भनाइ छ।
Facebook Comments


























