चितवन, असोज ७ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धान पसाउन लाग्दै गर्दा जङ्गली हात्तीले नोक्सान पुर्याउन शुरु गरेको छ। जिल्लाको पूर्वी क्षेत्र राप्ती र पश्चिमी क्षेत्र जगतपुर, मेघौलीसँगै माडीमा हात्तीले दैनिक रातको समयमा दुःख दिने गरेको हो।
साँझ परेपछि एक्लै र समूहमा निकुञ्जबाट निस्किएर हात्ती धानबारीमा पस्ने गर्छन्। धान खाने, कुल्चने, मडार्ने गरेर क्षति पुर्याएको स्थानीयवासीको गुनासो छ। ती क्षेत्रका बासिन्दाले पालो मिलाएर रातभर हात्ती लखेट्ने गरेका छन्। ट्याक्टरको बत्ती बाल्ने, टायर बाल्ने, विद्युत्तीय झड्का दिएर लखेट्ने गरेको उनीहरुको भनाइ छ।
लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोका अनुसार राप्ती नगरपालिका वडा नं १ र ३ मा हात्तीले बढी सताउने गरेको छ। विगत ५० दिनयता रोनाल्डासँगै अन्य तीन चार हात्ती दैनिक आउने गरेको स्याङ्बोले बताए। उनले भने “कहिले तीन त कहिले चार वटा हात्ती दैनिक आउँछन्।”
कहिलेकाहीँ त्यही बथान मकवानपुरको मनहरि क्षेत्रमा जाने उनको भनाइ छ। साँझ ८ः०० बजेतिर आएका हात्तीलाई लखेट्न नसके बिहान ४ः०० बजेसम्म धानमा क्षति पुर्याउने गरेको छ। सो सामुदायिक वनले विद्युतीय झड्काका लागि तारबार गरेको छ। राप्ती नगरपालिकाको सहयोगमा १० मिटरको फरकमा तीन किलोमिटर क्षेत्रमा सिएफएल बालिएको उनको भनाइ छ। स्थानीयवासीले चोक–चोकमा टायर बाल्ने, दैनिक दुई वा तीनवटा ट्याक्टरमा बत्ती बालेर लखेटिरहेको उनले जानकारी दिए।
हात्तीले अहिलेसम्म सो क्षेत्रमा १५ बिघा भन्दा बढी क्षेत्रफलमा लगाएको धान क्षति बनाएको छ। यससँगै एउटा घर, एउटा कुखुराको खोर र एउटा घरको भान्छामा क्षति बनाएको उनले दुखेसो गरे। पश्चिम चितवनको शुक्रनगर, जगतपुर, पटिहानी, मेघौली क्षेत्रमा पनि हात्तीले सताउने गरेको छ। त्यस क्षेत्रमा गोविन्दे नामको पुरानो हात्ती दैनिक आउने गरेको हरियाली मध्यवर्ती सामुदायिक वनका सल्लाहाकार संयोजक लालबहादुर दवाडीले जानकारी दिए।
माडी क्षेत्रमा हरेक वर्ष हात्तीले दुःख दिने गर्दछन्। माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भैरवपुर, वनकट्टा, पौवारी, कृष्णनगर लगायतका क्षेत्रमा रातको समयमा हात्ती धान खेतमा पसेर क्षति पुर्याउन थालेको बताए। ढकालले हात्तीले क्षति बनाएबापत निकुञ्जले दिने जति राहत नगरपालिकाले थप गरेर दिँदै आएको जानकारी दिए।
जङ्गली जनावरको आक्रमणबाट नगरवासीको मृत्यु भएमा मृतकका परिवारलाई तत्काल किरिया खर्चबापत रु २५ हजार नगरपालिकाले दिँदै आएको छ। उनीहरुका आफ्नै छोरा वा छोरी कक्षा १२ भन्दा तल पढ्दै गरेको भएमा रु पाँच लाख सहयोग गर्ने गरेको छ। हालसम्म दु्ई परिवारलाई अध्ययन खर्च दिइएको ढकालको भनाइ छ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जङ्गली हात्तीले निकै दुःख दिने गरेको बताए। मध्यवर्ती सामुदायिक वनको अगुवाइमा स्थानीयवासीले हात्ती लखेट्ने गरेको उनको भनाइ छ। जङ्गली हात्तीले पुर्याएको क्षतिको राहत निकुञ्जले दिने गरेको भए पनि पूर्ण दिन सम्भव छैन।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जङ्गली हात्ती बाहिर निस्कने क्रम बढेपछि गस्ती बढाइएको जानकारी दिए। मानवीय र अन्य क्षति नहोस् भन्नका लागि गाडी तथा ट्याक्टरको सहयोगमा हात्ती लखेट्ने काम भइरहेको उनले बताए। उनले भने “बढी नै दुःख दिएमा हवाई फायरसमेत गर्नका लागि तयारी अवस्थामा सुरक्षाकर्मी राख्ने गरिएको छ।” निकुञ्जभित्रको घाँस छिप्पिएको हुने तर बाहिरको धान कलिलो र मिठो हुने भएकाले यो मौसममा जङ्गली हात्ती बाहिर आउने उनको भनाइ छ। रासस


























