काठमाडौं, असोज ७ । नेपाली काग्रेसले थप छ जिल्लामा पार्टीका आन्तरिक संरचना समायोजन सम्पन्न गरेको छ। कांग्रेसले बाँकी रहेका ११ जिल्ला मध्ये थप छ जिल्लामा पार्टीका आन्तरिक संरचनाहरु समायोजन गरेको हो। केन्द्रीय निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले समायोजन हुन बाँकी रहेका प्रदेश नम्बर २ का आठ जिल्ला र मुस्ताङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमध्ये छ जिल्लामा समायोजनको काम सम्पन्न भएको जानकारी दिए।
उनकाअनुसार अब सिरहा, सप्तरी, धनुषा, बारा र सिन्धुपाल्चोकमा आन्तरिक संरचना समायोजनको काम बाँकी छ। निर्वाचन समिति संयोजक अधिकारीले बाँकी रहेका पाँच जिल्लामध्ये धनुषाको पनि समायोजन सम्पन्न भएर समितिले अध्ययन गरिरहेको जानकारी दिए।
“७२ जिल्लाको समायोजन सकिसकेका छौं। अब पाँच जिल्लाको बाँकी छ,” उनले भने, “सिरहा, सप्तरी, धनुषा, बारा, सिन्धुपाल्चोक बाँकी हो। त्यसमा धनुषाको आइसकेको छ, समितिले अध्ययन गर्दैछ।”
गत असार २२ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको अन्तिम मिति यथावत राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको थियो। जसअनुसार पार्टीका आन्तरिक संरचना समायोजन, क्रियाशिल सदस्यता वितरणको समयावधि पनि परिमार्जन भएको थियो। नयाँ कार्यतालिकाअनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो। कार्यतालिकाअनुसार कार्यसम्पादन नहुनुलाई कांग्रेसले कोभिड–१९ को महामारीलाई देखाउँदै आएको छ।
कार्यतालिकाअनुसार पार्टीका आन्तरिक संरचनाहरु समायोजन हुन नसक्दा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम पनि रोकिएको छ। जसले महाधिवेशन कार्यतालिकानै प्रभावित बनेको छ।


























