काठमाडौं, असोज ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। मङ्गलबारको सचिवालय बैठकपछि नै मन्त्रिपरिषद् हेरफेर गर्ने गरी प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको स्रोतको दाबी छ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सोमबार बालुवाटारमा छलफल भएको थियो। उनीहरू सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन सहमति भएको स्रोतको दाबी छ। “यसबारे भोलिको बैठकमा छलफल हुन्छ, त्यसपछि मात्रै पुनर्गठन होला,” स्रोतले भन्यो।
बालुवाटार स्रोतले पनि सचिवालय बैठकले निर्णय गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दियो। “सचिवालय बैठकको एजेन्डा नै छ। बैठक चल्दाचल्दै पुनर्गठन हुने भन्ने हुँदैन। बैठक सकिएपछि निर्णयका आधारमा हुने हो,” स्रोतले भन्यो।
आइतबारको बैठकमा तीन विकल्पमाथि छलफल भएको थियो। पहिलो, सबै मन्त्रीहरू हटाउने। वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको यसमा मत थियो। अध्यक्षद्वय ओली प्रचण्डले केही मन्त्री हटाउने, केही मन्त्री राख्नेगरी पुनर्गठन गर्न सकिने बताएका थिए। गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेलले पहिला मापदण्ड बनाएर मात्रै छलफल गर्नुपर्ने धारणा राखेका थिए।


























