नवलपुर, भदौ २९ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन्। गैँडाको आक्रमणबाट जिल्लाको मध्यविन्दु नगरपालिका–३, ब्रम्हस्थानका ५२ वर्षीय देवीराम महतो घाइते हुनुभएको हो। आइतबार दिउँसो घर पछाडि सिसौबारीमा घाँस काट्ने क्रममा महतोलाई गैँडाले आक्रमण गरेको मध्यविन्दु–३ का वडाध्यक्ष अमरबहादुर महतोले जानकारी दिए।
गैँडाको आक्रमणबाट महतोको बायाँ खुट्टा र दाँहिने हातमा चोट लागेको छ। गैँडाको आक्रमणबाट घाइते महतोलाई मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले महतोको चितवनको भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए। महतोको अवस्था मध्यम खालको रहेको खाँणको भनाइ छ। रासस


























