भदौ २२ । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आज (सोमबार) विभिन्न आठ खेलहरु हुँदैछ।
नेसन्स लिगमा सोमबार इटाली, पोल्याण्ड, नेदरल्यान्ड्स, नर्वे, अस्ट्रिया लगायतका देशले प्रतिस्पर्धा गर्ने छन्।
इटालीले नेदरल्यान्ड्ससँग उसैको मैदानमा खेल्नेछ। इटाली र नेदरल्यान्ड्सबिचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ।
नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रदा इटाली पहिलो जितको खोजीमा हुनेछ।
लिग ‘ए’ समूह १ मा रहेको इटालीले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १-१ गोलको बराबरी खेलेको थियो।
नेदरल्यान्ड्स भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा नेदरल्यान्ड्सले पोल्याण्डलाई १-० ले हराएको थियो।
यस समूहमा नेदरल्यान्ड्स ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। एक अंक जोडेको इटाली दोस्रो र बोस्निया तेस्रो स्थानमा रहेको छ।
अंक विहीन पोल्याण्ड पुछारमा रहेको छ। पोल्याण्डले सोमबार आफ्नो दोस्रो खेलमा बोस्नियासँग खेल्नेछ।
यस्तै नर्वेले नर्दन आयरल्याण्डसँग खेल्दा चेक रिपब्लिकले स्कटल्याण्डसँग खेल्नेछ।
कजाकिस्तानले बेलारुससँग खेल्दा इजरायलले स्लोभाकियासँग खेल्नेछ।
अन्य खेलमा अष्ट्रिया र रोमानिया तथा अल्बानिया र लिथुनियाबीच खेल हुनेछ। एजेन्सी


























