काठमाडौं, भदौ २२ । अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित ईकमर्स कम्पनी सगूनले कुनै पनि माध्यमबाट नेपाली पूँजी स्वदेशबाहिर नलैजाने स्पष्ट पारेको छ। सगूनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनका क्रममा संस्थापक गोविन्द गिरीले सगूनप्रति नबुझेर सुरुमा केही भ्रमहरु रहे पनि अहिले त्यो स्पष्ट भइसकेको बताए।
‘हामीलाई आफ्नै भूमिमा एउटा प्लेटफर्म मात्रै चाहिएको हो, हामीले नेपालीबाट प्राप्त गरेको मुनाफा नेपालकै आर्थिक समृद्धि र विकासका लागि प्रयोग गर्ने छौं। यसमा ढुक्क हुनुस्, नेपालबाट कमाएको सबै पैसा हामी नेपालमै रोजगारी र आर्थिक विकासका लागि प्रयोग गर्छौं,’ उनले भने।
पत्रकार सम्मेलनमा सगूनले विश्वभरका लगानीकर्ताहरुका लागि मिनी आईपीओमार्फत लगानी गर्न पुनः आह्वान गरेको छ। कानूनी मान्यताअनुसार लगानीकर्तामाझ आएको सगूनले आगामी जनवरीबाटै सेकेण्डरी आईपीओमा जाने लक्ष्य राखेको संस्थापक गिरीले बताए।
सगूनले साना लगानीकर्ता प्रोत्साहन गर्नका लागि कम आम्दानी भएकाहरुलाई समेत लगानीको वातावरण जुटाएको जनाएको छ।
फेसबुक, ट्वीटरजस्ता ठूला कम्पनी जुन नेपालीको पहुँचमा छैनन्, तिनमा सर्वसाधारणको लगानीका लागि कुनै प्लेटफर्म नभएपनि सगूनले भने सर्वसाधारणका लागि लगानीको वातावरण बनाएको भन्दै गिरीले नेपाली डायस्पोराका लागि यो लगानीको उत्तम अवसर भएको बताए।
उनले भने, ‘सन् २०१५ बाट सुरु भएको हाम्रो एप आज विश्वका लाखौं मानिसको हातहातमा पुगेको छ, हिजोका दिनमा सर्वसाधारणको पहुँचमा नभएका अन्तर्राष्ट्रिय प्लेटफर्म आज लगानीकर्ताहरुका लागि सुनौलो अवसर बनेको छ।’
सगूनले “ग” श्रेणीको साधारण शेयर मिनी (आईपीओ) प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिरहेको छ। आगामी सेप्टेम्बर ३० तारिखसम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले आईपीओ खरिद गर्न पाउनेछन्।
कम्तिमा ३० कित्ता शेयर नौ सय डलरमा खरिद गर्न सकिने प्रावधान रहेको छ। सन् २०२१ को सुरुमा सेकेण्डरी आईपीओमा जाने रणनीति रहेकोले पनि मिनी आईपिओ मार्फत लगानीको अवसर यही नै अन्तिम पटक हुने सगूनका सहसंस्थापक कविन सिटौलाले जनाए।
अहिले संसारभरि सगुनका प्रयोगकर्ता ८१ लाख बढी रहेको सो कम्पनी ले जनाएको छ।
सगूनका प्रयोगकर्ता विशेषगरी अमेरिका, नेपाल र भारतसहित दक्षिण एसियाली मुलुकमा बढीरहेको कम्पनीले जानकारी दिएको छ।


























