काठमाडौं, भदौ १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मात्रले पार्टी नबन्ने र विधि मात्रैले पनि पार्टी नबन्ने उल्लेख गरेका छन्।
सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमा सोमवार एक सन्देश लेख्दै पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन भएको उल्लेख गरेका हुन्।
‘पार्टी भनेको विचार र विधि हो। विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन। अझ कम्युनिस्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो,’ प्रचण्डको आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ।
प्रचण्डको ट्वीट के सन्दर्भमा आएको र कसप्रति लक्षित भन्ने उल्लेख छैन। असारमा शुरू भएको पार्टी भित्रको विवाद अहिले मत्थर भएको छ। महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले नेकपा विवाद समाधानका लागि रोडम्याप प्रस्तुत गरेपछि लामो समय चलेको अन्तरकलह साम्य हुने चरणमा छ।
कार्यदलको प्रतिवेदन अनुमोदन गर्न भदौ १३ गते बस्ने भनिएको सचिवालय बैठक भदौ १८ सम्मका लागि सरेको छ।
सचिवालय बैठकअघि प्रचण्डको यस्तो ट्वीटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


























