भदौ १५ । फ्रेन्च क्लब लियोनले महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ।
जर्मन क्लब उल्फ्सवर्गलाई ३–१ गोल अन्तरले पराजित गर्दै लियोनले महिला च्याम्पियन्स लिगको उपाधि उचालेको हो।
लियोनको जितमा युजेनी लि सोममेर, साकी कुमागाइ र सारा ब्योर्कले एक एक गोल गरे।
जर्मन क्लबका तर्फबाट एलेक्स पोपले हेडमार्फत एक गोल फर्काएकी थिइन्।
लियोनले लगातार पाँचौ पटक महिला च्याम्पियन्स लिगको उपाधि उचालेको हो।
उसले सर्वाधिक ७ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। लियोनले पछिल्ला ११ बर्षमा ९ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको छ।
इङ्ल्याण्डकी लुसी ब्रोन्जले युरापेली च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक सहित लियोनको यात्रा समाप्त गरिन्। २८ बर्षिया खेलाडीले नयाँ गन्तव्यको बिषयमा बोलेकी छैनिन्। तर उनले सिजनको अन्त्यसंगै क्लब छाड्ने घोषणा गरेकी थिईन्।
दुई पटकको विजेता उल्फ्सवर्ग पाँचौ पटकको फाइनल भिडन्तमा समेत लियोनलाई पराजित गर्न असफल रह्यो।
कोरोनाका कारण दर्शक विहिन फाइनल खेल स्पेनको रियल सोसिडाडको मैदानमा खेलाईएको थियो। प्रतियोगितालाई सिंगल लेगमा ९ दिनमा सकिएको हो। कोरोनाको महामारीका कारण मार्चपछि प्रतियोगिता स्थगित अवस्थामा थियो। एजेन्सी


























