काठमाडौं, भदौ १५ । विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को संक्रमण नेपालका कारागारमा समेत देखिन थालेको छ।
कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा संक्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ। आइतबारसम्ममा शंकास्पद ८७९ जनाको पिसीआर परीक्षण गरिएकोमा १६६ जनामा संक्रमण भेटिएको छ। त्यसमध्ये ७२ जना निको भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए।
सापकोटाका अनुसार भदौको पहिलो सातामा पर्साको वीरगञ्ज कारागारमा संक्रमण देखिएको थियो। त्यसपछि जोखिम क्षेत्रका सात वटा कारागारमा नमूना संकलन गरेर परीक्षण गर्दा अन्यमा समेत देखिएको हो। नयाँ कैदीबन्दी र कारागारको सुरक्षामा खटिएका प्रहरीमा पहिलो पटक कोरोना देखिएको थियो।
केहीअघि काठमाडौँको केन्द्रीय कारागारसहित स्याङ्जा, बाँके, सिन्धुपाल्चोक, सिरहा, सुनसरी र पर्साको कारागारमा शंकास्पद कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको सापकोटाले बताए। काठमाडौँको केन्द्रीय कारागारमा चार जनामा देखिएको छ।
प्राप्त विवरणअनुसार कारागारका सुरक्षाका लागि खटिएका २०७ प्रहरीमा पिसीआर परीक्षण गर्दा ५२ जना तथा कर्मचारी ७८ जनाको परीक्षण गर्दा सात जनामा संक्रमण देखिएको हो। बाँकी सबै कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। हाल देशभरका कारागारमा २४ हजार १०० कैदीबन्दी छन्। कूल ८२० कर्मचारी र झण्डै दुई हजार प्रहरी रहेका छन्। कारागारभित्र सामाजिक दूरी कायम गर्न सक्ने अवस्था नभएकाले उच्च जोखिम छ। रासस


























