कोरोना भाइरसबाट विशेष गरी अग्रपंक्तिमा रहेर काम गर्दै आएका व्यक्तिहरू नै बढी जोखिममा छन्। उच्च जोखिममा रहेर काम गर्ने डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी सबैभन्दा बढी जोखिममा छन्। डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीले यतिबेला घरपरिवार नै छाडेर ज्यानको बाजी लगाएर सेवामा खटिन बाध्य छन्।
स्वास्थ्यकर्मीहरूले जोखिमको सामना गरी संक्रमणको जोखिमबाट बचाउन महत्त्वपूर्ण प्रयास गरिरहेका छन्। तर पनि हामी आफैँले बुझेर पनि बुझ पचाइरहेका छौँ, र समाजमा कोरोना संक्रमित देख्ने बित्तिकै उसलाई र उसको परिवारलाई हेर्ने दृष्टिकोण फेरिरहेका छौँ। वर्तमान विषम् परिस्थितिमा जोखिम मोलेर आफ्नो दायित्व निर्वाह गरेका स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार कदापि ठीक होइन। पर्याप्त सेवा सुविधाको अभावका बावजुद पनि बिरामीको सेवामा चौबीसै घण्टा खटिइरहेका ती स्वास्थ्यकर्मीमाथि सामाजिक विभेद र दुर्व्यबहार हुनु अमानवीय हो।
उनीहरूलाई काम गर्न हौसला र सहज वातावरणको खाँचो छ। आफ्नो जीउ ज्यानको पर्वाह नगरी कर्तव्यपथमा समर्पित सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति उच्च सम्मान छ। यो बीचको समयमा हामीले अस्पतालमा कार्यरत दुई नर्सहरूको अनुभवलाई समेट्ने प्रयास गरेका छौँ। प्रस्तुत छ, उनीहरूको अनुभव जस्ताको तस्तै।
कोभिड–१९ अग्रपंक्तिका मोर्चा हामी
– विष्णुमाया अधिकारी

हाल विश्वमा कोरोना भाइरसका कारण आठलाख भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। यो स्थिति अझै रोकिने अवस्थामा छैन। नेपालमा पनि त्यसको असर बिस्तारै बढ्दै अहिले महामारीको रूप लिइरहेको छ। यस्तो असाधारण समयमा क्यान्सर रोगको उपचारमा संलग्न हामी स्वास्थ्यकर्मीले अनेकौं चुनौतीको सामना गर्नु परिरहेको छ।
सुरूवाती चरणमै नेपाल सरकारले महामारी नियन्त्रणका लागि तयारी गरिरहेको थियो। तर अब यस्तो तयारीले नपुग्ने निश्चित छ। नयाँ खालको संक्रमण भएकोले त्रासको वातावरण भयो, के गर्ने के नगर्ने भन्नेमै अन्योल थियो। तर अब ढिलो भइसक्यो। देशको विभिन्न ठाउँबाट क्यान्सरको बिरामी आउने अति जोखिमपूर्ण अस्पताल हो, क्यान्सर अस्पताल। नेपालको मध्यभाग त्यसमा पनि मेडिकल सिटी हो भरतपुर, त्यसैले पनि कोभिड–१९ को जोखिम यसै पनि उच्च छ।
क्यान्सर दीर्घ रोग भएकोले बिरामीको रोग प्रतिरोधात्मक क्षमता कम हुने र कोभिड–१९ ले क्यान्सरका बिरामीलाई चाँडो आक्रमण गर्न सक्छ। हामी नर्स तथा स्वास्थ्यकर्मी आफ्नो पेशागत प्रतिबद्धताका साथ अग्रमोर्चामा रहेर सेवामा समर्पित छौँ। बिरामीसँग सबैभन्दा बढी समय बिताउने भनेकै हामी नर्सहरू नै हौँ। कामको प्रकृतिका कारण हामी पनि संक्रमणको उच्च जोखिममा छौँ। अग्रमोर्चामा रहेर हामीले अनेकौं चुनौतीको सामना गरिरहेका छौँ। तसर्थ संक्रमण पनि हामी नर्स र स्वास्थ्यकर्मीमा बढी छ।
हालसम्म कुनै औषधिय उपचार र खोपको विकास नभएकाले यस रोगको संक्रमणको प्रकोपलाई घटाउन एकमात्र उपाय भनेको सामाजिक दूरी कायम गर्नु हो। तर हामी नर्स बिरामीलाई नछोई सेवा गर्न सक्दैनौं। सेवामा त जुट्नु नै छ। सामाजिक दूरीको प्रभावकारी पालनाको लागि विश्वका विभिन्न देशहरूले लकडाउन गरेका छन्। रोगको प्रकोप धेरै भएका देशहरूमा हेर्दा यसले स्वास्थ्य क्षेत्रमा दिएको दबाब र विश्वका ठूला राष्ट्रमा भएको स्वास्थ्य सामग्रीको अपर्याप्तता ज्यादै डरलाग्दा छन्। अप्ठ्यारा, समय लाग्ने र अध्यनोन्मुख निदानका उपाय, अग्रपंक्तिका सेवाप्रदायक हामीलाई अत्यावश्यक सुरक्षा पोषाक र सामानको कमी, अस्पतालमा क्षमताको कमी, आइसीयूको कमी आदि धेरै कारणले स्वास्थ्य क्षेत्र र अस्पताल एउटा युद्धभूमी र हामी स्वास्थ्यकर्मी कोभिड–१९ सँग लडाईँ गर्ने लडाकु जस्तो अवस्था सिर्जना भएको छ।
स्वास्थ्यकर्मीहरू पनि धमाधम संक्रमित भइरहेका छन्। हामी नर्स सर्टिफिकेटको लागिमात्र नर्स बनेको नभई जस्तोसुकै अवस्थामा पनि विचलित नभई बिरामीको सेवामा समर्पित हुन्छौं भनी ‘हातले दियो समाइ, कसम खाई’ सेवामा प्रवेश गरेका हुन्छौँ। तर समाजमा घटेका विभिन्न घटना घटे। जस्तै: डोटीमा स्वास्थ्यकर्मी बाटोमा हिँड्दा कोरोना सर्छ भनेर स्वास्थ्यकर्मीले भौतिक आक्रमणको सामना गर्नुपर्यो। चितवनमा चिकित्सकको घरमा कोरोना संक्रमितको घर भनेर ब्यानर लगाउने प्रयास भयो। काठमाडौँको बानेश्वरमा चिकित्सक र स्वास्थ्यकर्मी बसेको होस्टेल घेर्ने काम भयो।
स्वास्थ्यकर्मी बसेको घरमा डेरा छोड्न लगाउने जस्ता गतिविधिले पेसाप्रति निरूत्साहित उत्पन्न भएको छ। रोग के हो? कसरी सर्छ? आहिलेसम्म चेतनाको अभाव समाजमा विद्यमान छ। जनचेतना बढाउनुपर्ने देखिन्छ। स्वास्थ्यकर्मीले पनि सुरक्षित भएर काम गर्नुपर्ने देखिन्छ। धेरै स्वास्थ्यकर्मी संक्रमित हुन थालेको वर्तमान अवस्थामा एउटा कविता लेखेकी छु-
कोरोनाको कहर
कहाँबाट आयो भाइरस कोरोना यो कहर
आफ्नै परिवारलाई पनि भयो भेट्न् रहर
दाजुभाइ इस्टमित्र सबै पराई भैसके
विकशित राष्ट्र पनि बेहाल भैसके
रातदिन जताततै कोरोनाको हल्ला छ
घरमै बसी विश्व अब कति चल्ला त
दिनदिनै संक्रमण बढ्दै बढ्दै गाको छ
के गरौं र कसो गरौं हामीलाई भाको छ
स्वास्थकर्मी पनि संक्रमित हुन थाले अब त
अस्पतालमा शैयाको बढाऔं क्षमता
समाजमा डाक्टर, नर्सको शान ठूलो पहिला त
नामै सुन्दा तर्किएर हिँड्छन् अहिले त
डेरामा नि नाआउ भन्दै टोल धेराउ गर्दछन्
बिरामी हुँदा फेरि उनै मानिस पाउ पर्दछ्न्
WHO ले पनि सत्यतथ्य लुकाएको होलाकी
भने हुन्थ्यो खास कुरा के हो नढाँटी
आठ लाख मरिसके नडराउने कसरी
सन्त्रास र अन्योलमा बाँच्ने कसरी
आत्मबल दह्रो बनाऔं हामी सफल हुनेछौं
एक न एकदिन कोरोनालाइ पक्कै जित्नेछौं
बिरामीको सेवा गर्दागर्दै स्वास्थकर्मीमा संक्रमण हुन पुगेका हुन्छन्। तर स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिनुपर्नेमा हमला गर्ने, कुटपिट गर्ने, घरबाट निकाल्ने र बदनाम गरी संक्रमितको ट्याग भिराउनाले स्वास्थ्यकर्मीको मनोबल घट्नुका साथै डिप्रेसनमा जाने अवस्था आएको छ। संक्रमण र जटिलता निरन्तर बढिरहेको छ। संक्रमितको उपचार अनि व्यवस्थापनमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मी कोभिड–१९ बाट संक्रमित हुने घटना पनि अस्वाभाविक रूपमा बढिरहेको छ। नागरिकको जीवनरक्षाका लागि खटिएका अर्थात् मानवीय सेवाका क्रममा संक्रमित हुन पुगेका स्वास्थ्यकर्मीमाथिको भेदभाव निकै चुनौतीपूर्ण छ। बिरामीको सेवामा लागि परेका स्वास्थ्यकर्मी संक्रमित हँुदा स्वास्थ्यकर्मी स्वयंलाई त समस्या हुन्छ नै, अन्य बिरामीलाई समेत समस्या भएको छ।
संविधानले ग्यारेन्टी गरेको मौलिक हक र अहिले महामारीको समयमा आफैंले प्रतिवद्धता गरेको स्वास्थ्यकर्मीको उपचारसहित जोखिम भत्ता र अन्य संक्रमितको उचित व्यवस्थापन हुनुपर्ने अहिलेको ट्ड्कारो आवश्यकता हो। स्थानीय तहमा प्रशासनमा काम गर्ने कर्मचारीले कोरोना संक्रमणको समयमा कामको जोखिम भत्ता लिइरहेका छन्। तर वास्तविक जोखिम मोलेका स्वास्थ्यसेवा प्रवाहमा खट्ने स्वास्थ्यकर्मी ‘घर न घाटका’ बनेका छन्। अर्थात् न जनताको सद्भाव र माया नै पाएका छन्, न प्रोत्साहन भत्ता। यसले हामी स्वास्थ्यकर्मीको मन विचलित बनाएको छ। त्यस्मा पनि हामी नर्स २४ सै घन्टा बिरामीको सेवामा समर्पित हुनुपर्छ, तर हाम्रो अवस्था सबल र सुन्दर छैन। यसको लागि राष्ट्रिय स्वास्थ्य सेवा प्रणाली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै नर्सको भूमिका सशक्त र प्रभावकारी हुन जरूरी छ।
(करिब दुई दशकदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत अधिकारी हाल चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सिनियर स्टाफ नर्सको रूपमा कार्यरत छिन्।)
स्वास्थ्यकर्मीकाे जीवन हत्केलामा
– पूजा दाहाल

विश्व नै आक्रान्त यस कोभिड–१९ को अवस्थामा हामी मानव जाती नै यसको शिकारमा परेका छौं। पाण्डामिक शब्द सुन्दा लाग्यो कतै यस्तो विश्व नै खाने र मानिसको नै विचिल्ली पार्ने कुनै रोग होला र? म आफैँ मनमनै प्रश्न गर्थेँ, रोगले त निश्चित व्यक्ति वा समुदायलाई समाएको त हामी सबैले देखेको हो। तर आज जुन शब्दमा म आफैँ विश्वास गर्दिन थेँ। त्यही शब्दले सताइरहेको छ। र सम्पूर्ण मनुष्यको जीवनलाई नै कर्कलाको पानी अवस्था सिर्जना गरेको छ, कतिखेर अदृश्य कोरोनाले समात्ने हो र जीवन नै समाप्त पार्ने हो। यस विषम् परिस्थितिमा विश्वभर छरिएर रहनुभएको मानव समुदायलाई विश्व स्वास्थ्य संगठनले भनेको मापदण्ड अपनाएर आफू र आफ्नो समुदायलाई यस रोगबाट बँच्नलाई अहम भूमिका निर्वाह गर्नुहुँदै यस विश्वलाई नै यस रोगबाट विजय प्राप्त गर्न प्रत्येक नागरिकले हातेमालो गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। यस रोगसँग लड्दा–लड्दै जसले आफ्नो जीवनलाई उत्सर्ग गर्नुभयो। उँहाप्रति समवेदना प्रकट गर्दछु। र, जसले यस अदृश्य शत्रुसँग जुधिरहनुभएको छ, उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै यो घडीमा अग्र पंक्तिमा रही काम गर्नुहुने सम्पूर्णप्रति विशेष आभार व्यक्त गर्दछु।
म पनि यस विषम परिस्थितिसँग समाना गर्नुलाई एक स्वास्थ्यकर्मी भएको नाताले र यसलाई नजिकबाट नियालीरहेको हुनाले यसबारे केही बोल्न मन लाग्यो। तसर्थ, आफ्नो भोगाइ, आफूजस्ता स्वास्थ्यकर्मीले समाना गर्नुपरेका समस्या, यसले नेपाली समाज र दैनिकीमा पारेको असरबारे केही लेख्ने जमर्को गरेको छु।
लाग्छ, अहिले आफनो जीवन र समय एक भनाइप्रति समर्पित भएजस्तो,
छोटो जिन्दगी लामो कथा
मुहारमा हाँसो मनमा व्यथा
यसरी नै चल्दैछ जिन्दगी
न खोला वारी न खोला पारी
हो, कहिलेकाहीँ त सोच्छु, मेरोमात्र जिन्दगी हो कि क्या हो? सबै देख्ने, सबै भोग्नुपर्ने म एक नेपाली। जसले विभिन्न राजनितिक परिवर्तन देखेँ, भूकम्प भोगेँ र अहिले फेरि कोरोनासँग जुधिरहेको छु। एक नर्सिङ पेसामा आवद्ध म मेरो दैनिकी बिरामीको सेवामा नै बित्ने गर्छ। तर पनि अहिलेको समय बदलिएको छ। कोरोना भाइरसले हाम्रो दैनिक जीवन नै कष्टकर बनाइदिएको छ, अस्तव्यस्त बनाइदिएको छ। कहिलेकाहीँ त सम्झिन्छु जसले कोरोनासँग लडिरहनुभएको छ, उहाँहरूको सेवा गर्न पाउनु नै मेरो पूजा हो। र, यसले नै मलाई पुण्य मिल्छ।
जे–जति सोचे पनि सायद यी सबै हामी स्वास्थ्यकर्मीको मन भुलाउने बाटा हुन्। यससँग हाम्रो लडाईँ जारी नै छ र जारी नै रहनेछ, तबसम्म हामीले यसलाई परास्त गर्न सक्दैनौँ। मनमा जे–जस्तो व्यथा भए पनि हामी हातमा पञ्जा र मुखमा माक्स साथै पिपिईको अभावमा आफूबाट घरपरिवार र नजिकका साथीहरूलाई सर्ने डर हुने हुँदा हामी स्वास्थ्यकर्मी विभिन्न जोखिम र स्रोतसाधन अभावका बाबजुद पनि आफ्नो जीवन हत्केलामा राखेर काम गर्नुपर्छ। जे–जस्तो दुःख भोगिए पनि जसले कोरोनासँग जितेर फर्किनुहुन्छ, उहाँहरूको मुहारमा चमक देखेर नै आफ्नो ओठमा हाँसो आउँछ, त्यही नै मैले भोगेको पीडाको जीत हो भन्ने आभास हुन्छ।
तथापि हामी स्वास्थ्यकर्मीको जिन्दगी यसरी नै चलिरहेको छ। विजय प्राप्त गर्छु भन्ने आशामा खोलाको बीचमा छु जस्तो लाग्छ। खै थाहा छैन पारी तरिने हो की वारी नै रहने हो। तैपनि हाम्रो अथक प्रयास जारी नै रहने छ। मलाई विश्वास छ, हामी मानव जगतले कोरोनालाई परास्त गर्न सफल हुनेछौँ। र, सबैले आरामको श्वास फेर्नेछौँ। त्यसपछि स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै ठूलो प्रगति हुनेछ।
(करिब एक दसकवर्षदेखि नर्सिङ पेशामा आवद्ध दाहाल हाल नेपाल मेडिसिटी अस्पतालमा आइसीयू नर्सको रूपमा कार्यरत छिन्।)