लमजुङ, भदौ १२ । जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सङ्क्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मर्स्याङ्दी गाउँपालिका–४ का ३१ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।
सङ्क्रमित महिला भने करिब पाँच दिनअघि भारतबाट आएका थिए। उनी पालिकाको क्वारेन्टिनमा बसेका थिए।
सङ्क्रमित सञ्चारकर्मीलाई बेँसीशहर नगरपालिका–७ मा रहेको शहरी विकास भवनमा निर्माण गरिएको आइसोलेशन र महिलालाई भने बेँसीशहरमै रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
जिल्लामा हालसम्म ११ महिलासहित १४५ जना कोरोना सङ्क्रमित भएकामध्ये नौ जना महिलासहित १११ जनाले कोरोना जितेर घर फर्किसकेका छन्।
हाल दुई महिला र ३२ जना पुरुष गरी ३४ जना जिल्लाको विभिन्न आइसोलेशनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए।