नवलपुर, भदौ ३ । जिल्ला प्रशासन कार्यालय नवलपुर (नवलपरासी-बर्दाघाट सुस्ता पूर्व) ले बुधबार रातिदेखि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए।
निषेधाज्ञामा खुला स्थानमा भेला हुन, भीडभाड गर्न, सभाजुलुस गर्न, जात्रा महोत्सव, दैनिक नित्य पूजा बाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, होटल–रेष्टुरेन्ट सञ्चालन गर्न, निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने गरी भदौ ९ गतेसम्मका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिँदै जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गतिविधि गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


























