जाजरकोट, भदौ ३ । अविरल वर्षासँगै जात खोलामा आएको बाढीले आज बिहान शिवालय गाउँपालिका–६ को वडा कार्यालय भवन बगाएको छ।
भारी बाढीको कटानका कारण टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिए।
यस्तै भीषण वर्षाका कारण वडा नं ६ कै लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्तका करिब १५० घर पहिराको जोखिममा रहेको वडा अध्यक्ष थापाले जानकारी दिए। केही घर चर्किएका छन्। पहिराको जोखिममा रहेका घरधुरीलाई सुरक्षित स्थानमा सार्नुपर्ने उनले बताए।
बाढीले कटान गरेपछि सयौँ बिगाहा खेत बगरमा परिणत हुनुका साथै दर्जनौँ पानी घट्ट पनि बगाएको छ। पहिरो खसेपछि शिवालय जोड्ने छेडा–कचाली सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिकाका कर्मचारी विवेक शाहीले जानकारी दिए।
त्यस्तै चट्याङ लागेर छेडागाड नगरपालिका–१३ चैतेटाकुराका वीरबहादुर नेपालीका तीन वर्षीय छोरा सुमन विकको आज बिहान परेको चट्याङ लागेर मृत्यु भएको छ। चट्याङले घरमुली वीरबहादुरसहित उनकी बुहारी वृद्धकला परियार र परिवारका अन्य तीन जना घाइते भएको स्थानीय शिक्षक विर्खबहादुर वलीले बताए।


























