काठमाडौं, भदौ ३ । नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय एक साताका लागि बन्द गरिएको छ।
संघले बुधबार एक विज्ञप्ति निकाल्दै केन्द्रिय कार्यालय भदौ १० गतेसम्म बन्द रहने जनाएको छ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेको कारण कार्यालय बन्द गरिएको संघले जनाएको छ।
सरकारले मंगलबार उपत्यकाका तीन जिल्लामा बुधबार रातिबाट भदौ १० गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।
तर, संघले सचिवालयबाट प्राप्त हुने सेवाहरु इमेलको सहायताबाट उपलब्ध हुने जनाएको छ।
यस अघि संघले आफ्नो सचिवालय जोड बिजोड मिति अनुसार खोल्दै आएको थियो।
सोमबार मात्र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्पूर्ण खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको थियो।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको राखेपले जनाएको थियो।


























