काठमाडौं, भदौ ३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ। आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको हो।
आज विहान राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
आज विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन्।
घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि पुगेका थिए।
नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ। २०७४ साल फागुन २ गते उनलाई सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो।
वि। सं। १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मेका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए।
स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन्।
राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको हो।


























