काठमाडौं, भदौ ३ । सांसदहरुलाई वितरण गर्न बनाइएको लोगो त्रुटीपूर्ण भएको भन्दै आलोचना भएपछि संसद सचिवालयले घरेलु कार्यालयलाई फिर्ता गरेको छ।
फेरि नयाँ लोगो बनाएर ल्याउन भन्दै संसद सचिवालयले बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई ती लोगोहरु फिर्ता पठाएको हो।
मंगलबार सभाभुखसहित बसेको संसद सचिवालय र घरेलु कार्यालयका अधिकारीको बैठकले पुनः नयाँ लोगो बनाउने निर्णय गरेको थियो।
सो निर्णयअनुसार मंगलबार नै १९० वटा लोगो फिर्ता लगिसकेको हस्तकला इकाइ अधिकृत गणेश राउतले जानकारी दिए। लोगो पुनः बनाउँदा लाग्ने खर्च हस्तकला इकाइ ललितपुरले नै व्यहोर्ने मौखिक कुराकानी भएको अधिकृत राउतले बताए।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्टममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो।
सो निर्णयअनुसार नयाँ लोगो बनाउने जिम्मा बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई दिइएको थियो। गत आइतबार उक्त लोगो संघीय संसदका महासचिव डा। भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरेका थिए।
उक्त लोगो सार्वजनिक भएपछि नेपालको नक्सा नमिलेको भन्दै आलोचना सुरु भएको थियो। लोगो डिजाइन गरेर दिने टेकबीर मुखियाले पनि आफ्नो कलामाथि घोर अन्याय भएको बताएका छन्।
सांसदहरुले छातीमा लगाउने लोगोमा दुई लाल सुनको जलप लगाइएको छ भने १ तोला चाँदीको बेस र ३।५ सेन्टिमिटर व्यास छ। एउटा लोगो बनाउन ५ हजार ५ सय २७ रुपैयाँ खर्च भएको थियो। घरेलु कार्यालयले सुरुमा ३५० थान लोगो बनाएर संघीय संसद सचिवालयलाई दिएको थियो।


























