भदौ ३ । बार्सिलोनाले नेदरल्याण्डका रोनाल्ड कोमेनलाई नयाँ प्रशिक्षक बनाउने भएको छ।
नेदरल्याण्डको राष्ट्रिय फुटबल टिम हेरिरहेको कोमेनलाई बार्सिलोनाले क्लबको नयाँ प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले क्लबको नयाँ प्रशिक्षकमा कोमेनलाई राख्ने तयारी गरेको बताए। उनले यसै हप्ता बार्सिलोनासंग औपचारिक सम्झौता गर्नेछन्।
मंगलबार राति बोल्दै बर्टोमेउले भने, ‘कोमेन एउटा हुन्, जसलाई हामीले रोजेका छौ। केही गलत भएन भने उनी अर्को सिजनका लागि मुख्य प्रशिक्षक बन्नेछन्।’
नेदरल्याण्ड र बार्सिलोनाका पूर्व डिफेन्डरले मंगलबार क्लबमा आउने सहमती गरेका छन्।
उनले क्याटलान क्लबबाट सन् १९८९ देखि १९९५सम्म खेलेका थिए। उनले चार लिग उपाधि र एक युरोपियन कप जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए। उनको नेदरल्याण्डसंग सन् २०२२ को विश्वकपसम्म सम्झौता रहेको छ।
बार्सिलोनाले मंगलबारमात्र खेल निर्देशक एरिक एबिडाललाई बर्खास्त गरेको थियो। एक दिन अघि क्लबले मुख्य प्रशिक्षक क्विक सेटिनलाई पदबाट बर्खास्त गरेको थियो।
च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसंग ८–२ ले पराजित भएपछि बार्सिलोनाले क्लबमा ब्यापक हेरफेरको तयारी गरेको छ। एजेन्सी


























