काठमाण्डाै । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीका पहिराे प्रभावितकाे उद्धार, व्यवस्थापन र राहतकाे लागि थप टोली प्रभावित क्षेत्रतर्फ जाने भएको छ। आज आइतबार गाउँपालिकाका जनप्रतिनिधिसहित थप स्वास्थ्य टोली र स्काभेटर लैजाने तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। गत शुक्रबार बिहान गएकाे पहिराेमा परी लिदीमा ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ भने २१ जना अझै हराइरहेका छन्।
पहिरोमा हराइरहेकाको आज पनि बिहानदेखि खोजीकार्य सुरु भएको छ। पहिरोमा परी घाइते भएकाहरुको चौतारा र काठमाण्डौको सिभिल अस्पतालमा उपचार भइरहेको छ। पहिरोबाट प्रभावित लिदीका १७२ घरधुरीमध्ये अति जोखिममा परेकाहरुलाई तत्काल सुरक्षित ठाउँमा सारिने भएको छ।
क्षति भएका र जोखिममा रहेका घरको तथ्याङ्क संकलनको काम पनि भइरहेको छ। लिदीको बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएको र दीर्घकालीन रूपमा पालिका, प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित ठाउँमा सार्ने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।


























