चितवन । केन्द्रीय अस्पतालको रूपमा स्थापित भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी र स्त्री रोग विशेषज्ञ एवम् स्त्री रोग तथा प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार राति आएको रिपोर्टअनुसार चितवनका २७ जनामा कोरोना संक्रमण देखिँदा भरतपुर अस्पतालका उच्च ओहोदामा कार्यरत चिकित्सकलाई नै कोरोना पुष्टि भएको हो। साथै अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी)मा कार्यरत एक जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।
अस्प्तालका अध्यक्ष डा अधिकारीका अनुसार संक्रमण पुष्टि भएका सबैकाे स्वास्थ्य अवस्था सामान्य छ। अस्पतालका मेसु डा तिवारी अस्पतालकै आइसाेलेसन (क्याबिन)मा रहेका डा अधिकारीले बताए। डा.तिवारी कोरोना संक्रमितको व्यवस्थापनका लागि अहोरात्र खटिँदै आइरहेका थिए। भरतपुर अस्पतालको सेवालाई व्यवस्थित गर्नका लागि आजै आकस्मिक बैठक बसेर निर्णय र योजना ल्याउने अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए।
पछिल्लो समय कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष संलग्न रहेका चिकित्सक एवम् स्वास्थ्यकर्मीमा कोरोना संक्रमण हुने क्रम बढ्दै गएको छ। शनिबार भएको ४७४ वटा परीक्षणमा चितवनका मात्रै २७ जनामा संक्रमण पुष्टि भएको थियो। तीमध्ये पनि भरतपुर महानगरपालिकाभित्रका मात्रै २१ जनामा संक्रमण पुष्टि भएको थियो।
यसअघि बुधबार मात्रै रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.विश्वबन्धु बगालेमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। चितवनमा साउन २१ गतेयता संक्रमण तीव्र रुपमा बढ्दै गएको छ। भरतपुर महानरपालिका क्षेत्रका बैंक, अस्पताल र प्रहरी युनिटहरुमा पनि संक्रमितहरु भेटिएका छन्। संक्रमण रोक्न भन्दै महानगरपालिकाभित्र शुक्रबार रातिदेखि भदौ ५ गतेसम्म निषेधाज्ञा जारी गरेकाे छ।


























