सिन्धुपाल्चोक, साउन ३० । शुक्रबार बिहान जुगल गाउँपालिका वडा नम्बर २, लिदीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार घटनास्थलबाट ५ जनाको शव निकालिएको छ। डीएसपी काफ्ले मृत्यु हुनेहरुको सनाखत भने नभएको जानकारी दिए।
त्यस्तै पहिरोमा परी घाइते भएकामध्ये ५ जनालाई उद्धार गरी थप उपचारका लागि पठाइएको पनि डीएसपी काफ्लेले बताए।
बिहीबार रातिको अविरल वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा परी लिदीमा कम्तीमा १३ घर पुरिएका छन्। जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालका अनुसार पहिरोमा परी ५ परिवार सम्पर्कविहीन भएका छन्।
पहिरोमा १३ घर पूरै पुरिए पनि थुप्रै घरमा आंशिक क्षति पुगेको नेपालले बताए। उनका अनुसार तीन घरमा १३ जना सदस्य थिए। बाँकी दुई घरमा कति थिए, खुल्न सकेको छैन।


























