काठमाडौं, साउन २९ । फिफा विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत सोमबार र मंगलबार परिक्षण गरिएका ३४ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ।
यस्तै एन्फाले परिक्षण गरिएका खेलाडीसहित प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ।
कोरोना परिक्षण गरिएको ५४ मध्ये एक जनाको भने पुनः परिक्षण गर्नु पर्ने एन्फाले जनाएको छ।
फिफा विश्वकप छनोट र एसियन कप छनोटको प्रशिक्षण थाल्नु अघि एन्फाले कोरोना परिक्षण गराएको थियो।
तर, टिमको प्रशिक्षण सुरु नभई स्थगित भएको हो।
एन्फाले भदौ १ गतेबाट सुरु गर्ने भनेको टिमको प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको जनाएको छ।
विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ।
नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने मिति तय थियो।
एएफसीले उक्त बाँकी खेल सन् २०२१ मा गराउने जनाएको छ। तर, एएफसीले नयाँ मिति भने तोकेको छैन।
समूह ुबीु मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ। चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ। यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ।


























