काठमाडौं, साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्रै रोजगारीका लागि बाध्यताको हिसाबले बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकारले काम गरिरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार भर्चुअल सम्बोधन गर्दै ओलीले तीन करोड जनसंख्या भएको देशका २६ लाख युवा बाहिर हुनु खुसीको कुरा नभएको बताए। ‘देश निर्माण गर्नुपर्ने मुख्य शक्ति नै देश बाहिर जानु अवश्य नै खुसीको कुरा होइन’, उनले भने, ‘त्यसैले हामीले यस दिशामा ठोस प्रयासहरु अगाडि बढाएका छौं। र हामी केही वर्षभित्र रोजगारीका लागि, छनौटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो, बाध्यताको हिसाबले बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ।‘
उनले युवाहरुलाई अगाडि बढ्न आग्रह गर्दै सरकार साथमा रहेको, अभिभावकत्व, साथ सहयोग र अवसर उपलब्ध गराउन सरकार दत्तचित्त रहेको बताए। उनले देशको क्रियाशील जनशक्ति ६० प्रतिशत र युवा जनशक्तिको संख्या ४० प्रतिशतभन्दा बढी रहेको बताए। ‘युवा शक्ति देश विकासको एउटा आधार भए पनि त्यसलाई हामीले समुचित ढंगले देशभित्र प्रयोग गर्न सकेका छैनौं’, उनले भने।
प्रधानमन्त्री ओलीले युवा जनशक्तिको लगभग २५ प्रतिशत देशबाहिर जाने, त्यसमध्ये केही अध्ययनका लागि र केही रोजगारीका लागि अवस्था छ रहेको बताए।


























