काठमाडौं, साउन १८ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता भर्खरै सम्पन्न भएको हो। असार १३ गतेदेखि दुई अध्यक्षबीच सम्वाद टुटेको थियो। स्थायी कमिटीको बैठक ओलीले एकलौटी रुपमा स्थगित् गरेको भन्दै दाहाल रुष्ट छन्।
उक्त भेटवार्तामा बरिष्ठ नेता झलनाथ खनालपनि सहभागी थिए। खनालले आजको भेटवार्तामा ठोस सहमति नभएको स्पष्ट पारे। तर, पछिल्लो समय देखिएको सम्वादहिनताको गाँठो भने आजको छलफलपछि फुकेको जिकिर गरे। उनले भने,‘दुवै पक्ष लचिलो भएर जानेबारे कुराकानी भयो। ओलीजीले अहिले सचिवालय राखौं भन्नुभयो, उहाँले स्थायी कमिटी बैठक राख्न मान्नुभएन। तर, हामीले स्थायी कमिटीको बैठक राखेर जानुपर्छ भनेका छौं। फेरि पनि वार्ता गर्ने सहमति भएको छ।


























