चितवन । कुशल पौडेल र सफल पौडेल दाजुभाइ हुन्। लकडाउनकाे समयमा भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरी, पारसनगरका यिनै दाजुभाइले ‘गल्फ कार’ बनाएका छन्। लकडाउनकाे समयमा फुर्सद भएकाेले नयाँ कामकाे साेचाइ आएपछि गाडी बनाइएकाे पाैडेल दाजुभाइले बताएका छन्। मोटरसाइकलको इञ्जिन, इलेक्ट्रिक रिक्सा र मारूती भ्यानको टायर तथा सोलारलगायतका सामाग्री जडान गरेर बनाएकाे कार आइतबार सार्वजनिक गरेका छन्। दुर्गा पञ्चायन टोल विकास संस्था र मिलिजुली आमा समूहले कार्यक्रम गरेर उक्त गाडी सार्वजनिक गरेका हुन्।
सुरुमा परीक्षणकाे लागि पुरानाे सामान खाेजेर गाडी तयार पार्दा करिब एक लाख रुपैयाँ खर्च भएकाे सफलले बताए। उनका अनुसार नयाँ सामान जुटाएर निर्माण गर्ने हाे भने खर्च बढ्न सक्ने देखिन्छ। परीक्षणकै लागि मात्रै गरेकाे काममा सफलता मिलेकाे उनकाे भनाइ छ। कतैबाट सहयाेग पाए आगामी दिनमा याेभन्दा राम्राे साधन निर्माण गर्न सक्ने उनकाे विश्वास छ। परीक्षणकाे लागि बनाइएकाे गाडी प्रतिघण्टा २० किलाेमिटर गुड्ने सफलकाे भनाइ छ। परीक्षणकै लागि गीतानगरबाट नारायणगढसम्म पुग्न सफल भएकाे उनले बताए।
छाेराहरुकाे सफलतामा अभिभावक दंग
पढाइमा मध्यम रहेका दुई भाइले लकडाउनकाे समयमा गाडी नै बनाएपछि अभिभावक दंग छन्। छाेराहरुकाे पहिल्यैदेखिकाे चाहनाअनुसार काम गर्न दिँदा समाजमै फरक खालकाे काम गरेर देखाएकाे आमा शर्मिलाले बताइन्। ‘लकडाउनकाे बेलामा माेवाइल चलाएर समय बिताउनुभन्दा नयाँ काम गर्छाैँ भनेपछि हामीलाई पनि राम्राे लाग्याे,’ उनले भनिन्, ‘जसकाे प्रतिफल राम्रै आयाे, हामी खुसी छाैँ।’

वडाले एक लाख दिने
दुई युवाले बनाएकाे कारकाे पहिलाे खर्च वडा कार्यालयले दिने भएकाे छ। आइतबार भएकाे कार्यक्रममा वडा नं ६ का अध्यक्ष हरिविलास कोइरालाले वडाको तर्फबाट निर्माण खर्च वापतको एक लाख रूपैयाँ दिने घाेषणा गरेका हुन्। गाडी निर्माण गरेका भाइ कुशललाई भने कक्षा ११ र १२ को लागि पूर्ण छात्रवृत्तिमा अंकुरम एकेडेमीले पढाइदिने भएको छ। एकेडेमीका प्राचार्य सुमन पौडेलले कुशलकाे लागि कक्षा ११ र १२ काे लागि पूर्ण छात्रवृत्तिमा पढाइदिने घोषणा गरेका हुन्।


























