विराटनगर, साउन १७ । उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिएका छन्।
भ्रष्टाचार विरोधी छवि बनाएका नेपाल सरकारका उपसचिव सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको हो।
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा २ कर्मचारीले कुटपिट गरेका हुन्।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुख सञ्जेलमाथि आक्रमण भएको जानकारी दिए।
घटना शुक्रबार दिउँसोको भएपनि आजमात्र बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालयमा अहिले सोही विषयमा छलफल भइरहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए।
सञ्जेलमाथि टेबुलमाथि राखिएको विभिन्न सामानले प्रहार भएको प्रहरीले जनाएको छ। दुवैजना कार्यालयका करार कर्मचारी हुन्। एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। कुटपिटबाट सञ्जेलको शरीरका विभिन्न भागमा चोट लागेको छ।


























