साउन १६ । बोरुसिया डर्टमण्डका फरवार्ड ईर्लिङ हाल्याण्डले आफु जर्मन क्लबमै प्रतिबद्ध रहेको बताएका छन्।
आगामी समर ट्रान्सफरमा म्यान्चेष्टर युनाईटेड र रियल मड्रिडसंग जोडिएका हाल्याण्डले आफु डर्टमण्डमै बस्ने प्रतिबद्धता दोहर्याएका हुन्।
उनले आफ्नो लक्ष्य डर्टमण्डमै बसेर बुन्डेसलिगाको उपाधि जित्नु रहेको बताए।
उनले भनेका छन्, ‘मेरो उद्धेश्य भनेको यही रहनु हो। र यस क्लबबाट उपाधि जित्नु हो।’
नर्वेजियन फरवार्डलाई डर्टमण्ड जानु अघि युनाईटेडले समेत अनुबन्धनको प्रयास गरेको हो। रेडबुल साल्जबर्गबाट च्याम्पियन्स लिगमा हाल्याण्डले गरेको प्रर्दशनका आधारमा डर्टमण्डले अनुबन्धनको प्रयास गरिरहेको थियो।
युनाईटेडले डर्टमण्डकै विङ्गर जाडोन साञ्चो र एस्टन भिल्लाका ज्याक ग्रिलिस अनुबन्धमा जोड गरिहेको छ। युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले आफ्नो खेलाडीलाई चेतावनी दिदै समर ट्रान्सफरमा एक फरवार्ड अनुबन्धन गर्न सकिने बताएका थिए। उनले खेलाडी सरुवा बजारमा फरवार्ड अनुबन्धन गर्न आफु तयार रहेको बताएका थिए।
हाल्याण्ड अहिले समेत युनाईटेडको निगरानीमा छन्। २० बर्षिया फरवार्डले गत सिजन डर्टमण्डका लागि १८ खेलमा १६ गोल गरेका थिए। तर उनले आफ्नो भविष्य डर्टमण्डमै रहेको दाबी गरेका छन्।
‘मसंग सन् २०२४ सम्मको लामो सम्झौता रहेको छ। बुन्डेसलिगाको उपाधि जित्नु मेरा लागि ठुलो सपना हो। उपाधिको खुसीयाली यहाँका समर्थकसंग मनाउन चाहन्छु ।’ उनले एक अन्तरवार्तामा भनेका छन्।
‘हामीसंग च्याम्पियन हुने क्षमता छ। तर एक्लै हिडेर हुदैन। बायर्न म्युनिखले स्थिर प्रर्दशन सहित आफुलाई अलग रुपमा अघि बढाएको छ।’ उनले भनेका छन्।
डर्टमण्डले दोस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो। बायर्नले लगातार आठौं पटक लिग उपाधि उचालेको छ।
डर्टमण्ड यतिबेला साञ्चो र हाल्याण्डलाई क्लबमै राख्न निकै संघर्ष गरिरहेको देखिन्छ। युनाईटेडले साञ्चोलाई मुख्य प्राथमिकतामा राखेर अनुबन्धनको प्रयास अघि बढाएको छ। एजेन्सी


























